काठमाडौं, २८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा स्वास्थ्यकर्मीको तलब नकाटिएको प्रष्ट पारेको छ ।
कोरोना भाइरसबारे जानकारी दिन शुक्रबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले चिकित्सक र स्वास्थ्यकर्मीको तलब कट्टी नगरिएको बताए । उनले मन्त्रिपरिषद्ले विभिन्न तहका कर्मचारीको तलब कट्टी गर्ने निर्णय गरे पनि मन्त्रालयले निर्देशन जारी नगरेको जानकारी दिएका हुन् ।
‘चैत ११ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न तहका कर्मचारीहरुको ३ देखि ७ दिनसम्मको तलब कट्टा गरेर कोषमा राख्ने निर्णय गरेको थियो’, प्रवक्ता देवकोटाले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब कट्टी गर्ने निर्देशन जारी गरेको छैन र हालसम्म कट्टी पनि गरिएको छैन, त्यसैले सबैले उच्च मनोबलका साथ काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अपिल गर्दछ ।’