
लमजुङ । लमजुङको दोर्दीका सामुदायिक वनमा आगलागी हुँदा दुई बालिकासहित ४ जना घाइते भएका छन् ।
शुक्रवार बिहानदेखि जिल्लाको दोर्दी गाउँपालिका–३ केरावारीस्थित केरावारी सामुदायिक जंगलमा आगलागी हुँदा दुई बालिकासहित चार महिला घाइते भएका हुन् ।
घाइते हुनेमा ५ वर्षीया अश्मी गुरुङ, १० वर्षीया रश्मि गुरुङ, १७ वर्षीया पुजा गुरुङ र २८ वर्षीया हरिमाया गुरुङ रहेको प्रहरीले जनाएको छ । घाइते चारै जनाको लमजुङ दुधपोखरी गाउँपालिका–६ ओखरीगाउँका रहेको प्रहरीले उल्लेख गरेको छ ।

चार मध्ये पुजा गुरुङ हिँड्न सक्ने अवस्थामा रहे पनि अन्य ३ जना भने गम्भीर रहेको प्रहरीले बताएको छ । चारैजनाको बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
ओखरीबाट भोेटेओडार झर्दै गरेका उनीहरु सामुदायिक वनको बाटो भएर आएको र आगलागीमा परेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको तथा घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको पनि जनाइएको छ ।