प्रधानमन्त्रीले भने–लकडाउन तत्काल हट्दैन

-


     मर्दी न्युज    
     २९ चैत्र २०७६ मा प्रकाशित


काठमाडौं, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले लक डाउनमा कुनै किसिमको सम्झौता नगर्न मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका विषयमा प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स गर्दै सो निर्देशन दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित एक्सन रुमबाट शनिबार प्रधानमन्त्री ओलीले चार घण्टासम्म मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्समा छलफल गरेका हुन ।

प्रधानमन्त्रीसँगको भिडियो कन्फरेन्स छलफलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागी थिए ।

छलफलमा सातै प्रदेशका मुख्यमन्त्रीले प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासको बारेमा जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले यसबीचका प्रयास सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढ्न जरूरी रहेको बताएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

छलफलमा प्रधानमन्त्री ओलीले सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नै नरहेको स्पष्ट पारे । ‘सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वबाट प्रभावित नहुन आम नेपाली दिदीबहिनी तथा दाजुभाइलाई अनुरोध गर्नुभयोु, थापाले भने ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्य उपचारको क्षेत्रले गुणात्मक फड्को मार्ने, प्रयोशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने बताएका छन ।
छलफलमा प्रधानमन्त्री ओलीले लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको स्पष्ट पारेका छन् ।

भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुनै नसक्ने प्रधानमन्त्रीको भनाइ छ । ओलीले यसमा नरम बनेर लापरबाही नगर्न पनि सबैलाई सचेत गरेका छन ।

प्रधानमन्त्रीले छलफलमा सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन । सरकार स्वयंले अथोरिटीका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न सबैलाई स्पष्ट पारेका छन ।

स्वयंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने, शारीरिक रूपमा तन्दुरूस्त र त्यसवापत कुनै लाभ नखोज्ने बताए । लकडाउनमा प्रशासनिक लापरबाही हुनु नहुने, मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनैपर्ने, त्यसका लागि केन्द्रबाटै एकरूपताको लागि परिपत्र जारी गरिनेसमेत जानकारी प्रधानमन्त्रीले गराएका छन ।

ओलीले अहिले जनतालाई दुःख दिन नभएर जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्वानसमेत गरेका छन ।

उनले सरसफाईमा ध्यान दिन, माक्स र चश्मा प्रयोग गर्न र मनोवैज्ञानिक काउन्सेलिङ बढाउन पनि मुख्यमन्त्रीलाई आग्रह गरे । सबै मुख्यमन्त्रीले प्रदेशमा कोरोना नियन्त्रणको प्रयास आवश्यकता अनुसार भइरहेको बताएका छन ।