पोखरा, ३० चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा आइतबार बिहानसम्म २० हजार ५०६ जनाको मृत्यु भएको छ । भाइरसबाट सबैभन्दा धेरै नागरिक गुमाउनेमा अमेरिका भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
अमेरिकामा ५ लाख २७ हजार १११ जनामा कोभिड–१९ को संक्रमितको पुष्टि भएको छ भने त्यसमध्ये ३१ हजार ४२४ जना निको भएर घर फर्किसकेका छन् ।
त्यस्तै इटलीमा हालसम्म १९ हजार ४६८ जनाले कोरोनाका कारण ज्यान गुमाएको छ । इटलीमा नयाँ संक्रमित संख्या कम हुँदै गएको छ भने पछिल्लो २४ घण्टामा इटलीमा ४ हजार ६९४ जना थप संक्रमित देखिएको छ । यससँगै इटलीमा कोरोनाको संक्रमित १ लाख ५२ हजार २७१ मा पुष्टि भैसकेको र त्यसमध्ये ३२ हजार ५३४ जना निको भएर घर फर्किसकेका छन् ।
त्यस्तै अमेरिकापछि कोरोना संक्रमित धेरै भएको राष्ट्र स्पेन पर्दछ । स्पेनमा १ लाख ६३ हजार २७ जनामा संक्रमित भइसकेका छन् भने १६ हजार ६०६ जनाले ज्यान गुमाइसकेका छन् । स्पेनमा निको भएर घर फर्किनेमा ५९ हजार १०९ जना रहेको छ ।
फ्रान्समा पनि कोभिड–१९ बाट १३ हजार ८५१ मानिसको मृत्यु भैसकेको छ । फ्रान्समा हालसम्म १ लाख ३० हजार ७२७ जनामा यसको पुष्टि भैसकेको छ भने २६ हजार ६६३ जना निको भएर घर फर्किसकेका छन् ।
कोभिड–१९ बाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख ८ हजार ७०२ पुगेको छ । भाइरस संक्रमितको संख्या विश्वभर १७ लाख ७३ हजा ३५८ मा पुष्टि भएको छ भने ४ लाख २ हजार २७० निको भएर घर फर्किसकेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।