कोरोनाबाट एक लाख १४ हजार बढीको मृत्यु, १८ लाख ५० हजार बढी संक्रमित

-


     मर्दी न्युज    
     १ बैशाख २०७७ मा प्रकाशित


पोखरा, १ वैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुने १८ लाख ५० हजार ५२७ पुगेको छ । विश्वभरि एक लाख १४ हजार २४५ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभरि ७५ हजार १४५ जना नयाँ संक्रमित थपिएका छन् । दैनिक मृत्यु हुनेको संख्यामा पनि कमी आएको छ । पछिल्लो २४ घण्टामा करिब छ हजार संक्रमितको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

अमेरिकाको म्यारिल्याण्डस्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा ५ लाख ५७ हजार ५७१ जनामा संक्रमणको पुष्टि भएको छ । अमेरिकामा सोमवार बिहान १० बजेसम्म पछिल्लो २४ घण्टामा करिब २७ हजार ४२१ नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमित थपिनेमा अमेरिका, फ्रान्स, रुस र भारतमा सबैभन्दा बढी छन् ।

अमेरिकामा शनिबार दुई हजार दुई, आइतबार एक हजार सात सयजना संक्रमितको मृत्यु भएको थियो । अमेरिकामा मृत्यु हुनेको संख्या दुईदिन यता स्थिर देखिएको छ ।

अमेरिकापछि सबैभन्दा बढी प्रभावित स्पेनमा समेत नयाँ संक्रमितको संख्यामा कमी आएको छ । सोमबार बिहानसम्म २४ घण्टामा मात्र तीन हजार ८०४ नयाँ संक्रमित थपिएका छन् । स्पेनमा संक्रमित हुने एक लाख ६६ हजार ८३१ पुगेको छ । स्पेनपछि इटालीमा संक्रमित हुने एक लाख ५६ हजार ३६३ रहेको छ ।

फ्रान्समा एक लाख ३३ हजार ६७० जना कोरोनाभाइरसका संक्रमित छन् । जर्मनीमा एक लाख २७ हजार ८५४ जना संक्रमित छन् । जर्मनीमा तीन हजार २२ जनाको मृत्यु भएको छ ।

त्यस्तै बेलायतमा ५ हजार २८८ नयाँ संक्रमित थपिएका छन् भने हालसम्म संक्रमितको संख्या ८५ हजार २०८ पुगेका छन् । बेलायतमा सोमवार बिहानसम्म १० हजार ६२९ जनाको मृत्यु भैसकेको छ ।

छिमेकी मुलक भारतमा कोरोनाभाइरसका संक्रमितको संख्या ९ हजार २०५ पुगेको छ भने ३३१ जनाको मृत्यु भएको छ । भारतमा हिजो आइतबार ७५९ नयाँ संक्रमित थपिएका छन् ।

विश्वभर कोरोनाभाइरसबाट निको भएर घर फर्किनेको संख्या ४ लाख २३ हजार ६९२ पुगेको छ । १३ लाख १५ हजार ४१२ संक्रमितमध्ये ५० हजार ५८९ को अवस्था गम्भीर रहेको छ ।