
काठमाडौं । सरकारले भारतसँगको सीमा अनिश्चितकालसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले भारततर्फको सीमा तत्काल नखोल्ने निर्णय गरेको हो ।
लकडाउनको समयमा नै संक्रमितहरु भारतबाट नेपाल प्रवेश गरेको खुलासा भएपछि सरकारले सीमामा थप कडाइ गर्ने निर्णय गरेको हाे।
संक्रमण बढ्न थालेपछि भारतले पनि मंगलबार नै २१ दिने लकडाउनलगत्तै अर्को १९ दिन लकडाउन थप गरिसकेको छ। मोदीले सोमबार देशवासीको नाममा सम्बोधन गर्दै लकडाउन थप कसिलो बनाउँदै मे ३ सम्म जारी राख्ने बताएका थिए ।
नेपालले पनि त्यतिबेलासम्म भारततर्फको सीमा बन्द नै राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
“भारतमा महामारीको रूप लिँदैछ । हामीकहाँ पनि एकपछि अर्को केस थपिँदैछ । यस्तो अवस्थामा भारतसँगको सीमा खोल्ने कुरा सोच्न सकिँदैन,” कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा रहेका एक मन्त्रीले भने ।
सरकारले वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गरेको छ ।