पोखरा, ३ वैशाख । पोखरामा एक ५५ वर्षीया महिलामा र्यापिड डाइग्नोसिस परीक्षण –आरडीटी) विधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्दा पोजेटिभ नतिजा आएको छ ।
पोखरा महानगरपालिका–१२ ढिकालेथरकी ती महिलाको कोरोना भाइरसको संक्रमण भए नभएको पुष्टी गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित प्रयोगशालामा स्वाब संकलन गरी परीक्षण भैरहेको छ ।
दुबईबाट २७ दिनअघि फर्किएकी ती महिलाको रगतको नमुना आरडीटी किटबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको हो । पोखराको १० र १२ नम्बर वडाका ३४ जनाको नमुना परीक्षण गर्दा उनको नतिजा शंकास्पद देखिएपछि पुनः परीक्षण गरिएको थियो ।
दोस्रोपटक परीक्षण गर्दा समेत पोजिटिभ देखिएकोले स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । उक्त स्वाब पीसीआर मेसिनमा परीक्षण पश्चात कोरोना भाइरस भएरनभएको पुष्टि हुने पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।