बाग्लुङकी कोरोना संक्रमित ६५ वर्षीया महिलाको तेस्रो परीक्षणको नतिजा नेगेटिभ

-


     मर्दी न्युज    
     ४ बैशाख २०७७ मा प्रकाशित


पोखरा, ४ वैशाख । गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै आएकी कोरोना संक्रमित बाग्लुङकी ६५ वर्षीया महिलाको बिहीवार गरिएको परीक्षणको नतिजा नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बाग्लुङकै अर्की संक्रमित १९ वर्षीया युवतीको भने चौथो स्वाब परीक्षणको नतीजा पनि पोजिटिभ आएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा बिहीबार गरिएको पिसीआर परीक्षणमा यस्तो नतीजा आएको प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले बताए । ‘बिहीबार गरिएको स्वाब परीक्षणमा युवतीको कोरोना पोजिटिभ र महिलाको नेगेटिभ नतीजा आयो’ शर्माले भने ।

धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेका कोरोना संक्रमितमध्ये पुनः परीक्षण गरिएकाहरूको नेगेटिभ आएको यो पहिलो घटना हो । यसअघि गरिएको दोस्रो परीक्षणमा यी महिलाको नतिजा पोजेटिभ आएको थियो ।