यस्तो छ आपतकालीन घोषणापछि जापानमा नेपालीको अवस्था

-


     मर्दी न्युज    
     ७ बैशाख २०७७ मा प्रकाशित


सन थापा

जापान (क्योतो), वैशाख ७ (अप्रिल १९) । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाईरस संक्रमित बढेपछि जापान सरकारले अप्रिल १७ मध्यरातबाट लागू हुने गरी देशव्यापी आपतकालीन घोषणा गरेको छ ।

घोषणापछि यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यातायात, कलकारखाना, उद्योग व्यवसाय सञ्चालन भए तापनि आंशिक रुपमा प्रभावित बनेको छ । करिब १ लाखको हाराहारीमा रहेको नेपाली समुदाय समेत प्रभावित बनेको छ ।

बढी प्रभावित होटेल रेष्टुरेन्ट

आपतकालीन घोषणापछि व्यवसायमा ६०÷७० प्रतिशत घटेको करीब ८ वर्षदेखि फुकुओका प्रान्तमा सापुरा रेस्टुरेन्ट संचालन गर्दै आएका सन्तोष गुरुङ बताउँछन् । उनी भन्छन् मानिसहरूको आवतजावत नै धेरै कमी भएको छ, त्यसैले बिहान ११ देखि राति ११ सम्म खुल्ने समय घटाएर बेलुका ८ बजे सम्म खोलेका छौ, केहीले अनलाईनबाट अर्डर गरेर लिन आउछन् । त्यस्तै पीडा व्यक्त गर्छन् क्योतो प्रान्तमा संचालित ज्योति रेस्टुरेन्टमा कार्यरत डिलाराम गौतम ग्राहक नै नआएपछि बन्द गर्नु जस्तै भएको छ ।

विद्यार्थी झन् पीडित

फुकुओकास्थित निसिनिहोन कलेजमा अध्ययनरत मनोज थापा कलेजको फी कसरी तिर्ने भन्ने पीरलोमा छन् । एक कन्भिनियन्स स्टोरमा हप्तामा २८ घण्टा काम गर्थे, अहिले कोरोनाले गर्दा सिफ्ट नै घट्यो, नेपालबाट मगाउने त्यस्तै हो वार्षिक ७ लाख फीको जगेडा कसरी गर्ने । त्यस्तै व्यथा छ ओईता प्रान्तस्थित एक कलेजमा अध्ययनरत साजन गुरुङको । भन्छन् हप्ताको २८ घण्टा पनि कटौति भएपछि कोठाभाडा, इन्स्योरेन्स, कलेज फी तिर्न धौधौ हुने भयो ।

कम्पनीमा कार्यरत नेपालीको जोखिम उस्तै

टोक्योस्थित जापान रेमिट फाईनान्समा कार्यरत किरण सुबेदी आपतकालीन घोषणा गरे तापनि कम्पनी बन्द नहुँदा संक्रमणको जोखिम रहेको बताउछन् । कार्यालय समयमा ट्रेनमा ठेलमठेल गरेर आवतजावत गर्नुपर्छ, सचेत हुँदाहुँदै पनि बाध्यता छ । उता ओसाका प्रान्तस्थित एक होटलमा कार्यरत दिनेश बिक पनि रेलमा कोचाकोच यात्रा गर्नु दैनिकी बनेको बताउँछन् ।

बेरोजगारको पीडा गहिरो

नागासाकी प्रान्तको एक बिजीनेस कलेजबाट भर्खरै ग्राजुयट भएका अमिस थापाले जापानीज एक रेस्टुरेन्टमा आंशिक काम गर्दै आएकोमा बन्द भएपछि एक महिना अघिदेखि बेरोजगार भएको बताए । अहिले साथीहरूसँग बसिरहेकोछु, बेरोजगार भएपछि जीवनयापन धेरै कठिन भएको छ ।

हुन त एक कम्पनीमा भिषा परिवर्तनको लागि आवेदन दिएको डेढ महिना भयो, रिजल्ट अझै आएको छैन हेरौ के हुन्छ उनी केही आशावादी हुन्छन् । तोचिगी प्रान्तमा एक महिनाअघि एक होटलमा भिषा परिवर्तन गरी काम शुरू भएको र ३/४ दिनमा होटल बन्द भएपछि अहिले बेरोजगार बनेको सीमा गुरुङ बताउछिन् । उनी जस्तै धेरै नेपाली काम बन्द भएपछि अहिले आंशिक रुपमा बेरोजगार बन्दै गएका छन् ।

जापानका प्रधानमन्त्री शिन्जो आवेले आपतकाल घोषणापछि हरेक नागरिकलाई एक लाख येन राहत दिने घोषणा गरेका छन् । यो प्रक्रिया मे महिनाबाट शुरू हुने बताईएको छ ।
कोरोना भाईरसको संक्रमणलाई फैलन नदिन र सजगता अपनाउन सहज बनाउनको लागि आगामी मे ६ तारिकसम्म आपतकालीन घोषणा गरेको हो ।

यो समाचार तयार पार्दासम्म जापानमा संक्रमितको संख्या १० हजार ३३४ र योकोहामा पोर्टमा क्वारेन्टाईन गरेको डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहित गरी ११ हजार १४५ जना पुगेको छ । जसमध्ये २ सय ३७ जनाको मृत्यु, २ सय ११ गम्भीर बिरामी र १ हजार ७ सय १३ जना सञ्चो भएको जापानी समाचार संस्था एनएचकेले जनाएको छ । अहिलेसम्म १ जना पुरुष र एक जना महिला गरी दुईजना नेपाली संक्रमित भई उपचाररत रहेको जनाईएको छ ।