
पोखरा, ११ वैशाख । आज १४औं लोकतन्त्र दिवसदेशभर विभिन्न कार्यक्रमहरु गरी मनाइदैछ ।
२०६२÷६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज लोकतन्त्र दिवस मनाइएको हो । जनताको बलिदानीबाट प्राप्त लोकतन्त्र आएता पनि जनताले अपेक्ष गरे अनुसार अझै विकास र समृद्धि हुन सकेको छैन ।
ज्ञानेन्द्रले २०५९ जेठ ८ गते विघटित संसद २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए ।
नारायणहिटी दरवार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाहले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने श्रृङ्खला चलाए । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरेका थिए ।
शासन सत्ता आफ्नै हातमा लिएका ज्ञानेन्द्रले केही नेताहरुलाई जेल हाले । सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच भएको १२ बुँदे समझदारीअनुसार ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध आन्दोलन चर्कियो । राजधानी काठमाडौंमा मानवसागर उर्लियो । आन्दोलनमा दुई दर्जन बढीको ज्यान गयो ।
अन्ततः राजा ज्ञानेन्द्र घुँडा टेक्न बाध्य भए र जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा गरे ।
आन्दोलनरत दलले तयार पारेकै मस्यौदाका आधारमा ज्ञानेन्द्रले ०६३ वैशाख ११ गते राति संसद पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । त्यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ ।
२०६३ जेठ ४ गते बसेको पुनःस्थापित संसद बैठकले राजदरवारको अधिकार कटौती गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गर्यो । २०६३ मंसिर ११ मा माओवादी हतियार बिसाउँदै शान्तिपूर्ण राजनीतिमा आयो ।
यसैको जगमा २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्ष लामो राजसंस्थाको विधिवत् अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना भएको ऐतिहासिक घोषणा गर्यो ।
लोकतन्त्र स्थापना भएको दिन वैशाख ११ र गणतन्त्र स्थापना भएको दिन जेठ १५ मा हुँदै आएको सार्वजनिक विदा भने वर्तमान सरकारले कटौती गरेको छ ।
सरकारले भने लोकतन्त्र, गणतन्त्रलाई संविधानले संस्थागत गरेकाले संविधान जारी भएको दिन २०७२ साल असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाउने र सो दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
यद्यपि जनताको चाहना तथा सपना भनेको नै विकास र समृद्धि हो । विकासको साथमा रोजगारी, शिक्षा, स्वास्थ्य, शान्ति सुरक्षा, भ्रष्टाचार, हिंसा, बलत्कार लगायतका अपराधिक गतिविधि मुक्त देशको अपेक्षा गरेका आम नेपालीको सपना पुरा हुन सकेको छैन ।
संघीयता कार्यान्वयनसँगै गाउँगाउँमा सिंहदरबार पुगेको छ । घरदैलोमै जनप्रतिनिधि पुग्छन् । लोकतन्त्रकै बलमा यी सबैथोक भए पनि नागरिकले अझै लोकतन्त्रको अनुभूति गर्न पाइएन भन्ने गुनासो गर्छन् ।
जति नै ठूला–ठूला परिवर्तनको कुरा गरे पनि नागरिकले लोकतन्त्रको आभाष गर्न पाएका छैनन् । दिनदिनै नेता र कर्मचारीका बेथिति र भ्रष्टाचारका समाचारले नागरिक वाक्कदिक्क मात्रै होइन, निराश हुँदै गएका छन् ।