
पोखरा । गत चैत १५ गते कोरोना संक्रमण पुष्टि भएकी पाँचौं संक्रमित १९ वर्षीया बागलुङकी अंशु सापकोटा डिस्चार्ज भएकी छिन् । बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आउँदा अंशुलाई कोरोना संक्रमण भएको थियो ।
चैत १२ स्बावको नमुना परीक्षण गर्दा कोरोना संक्रमित ठहर भएपछि उनी धवलागिरि प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी थिइन् । पछिल्लोपटक स्वाब जाँच गर्दा कोरोना नेगेटिभ देखिएपछि शुक्रबार राति डिस्चार्ज भएकी हुन् ।
अंशु दोहाबार कतार एअरवेजको क्युआर–६५२ मार्फत् नेपाल आएकी थिइन् । आन्तरिक उडानमार्फत् पोखरा उत्रिएकी अंशु त्यही दिन बागलुङ नगरपालिका–४ कुँडुले घर गएकी थिइन् ।
उनीसँगैको सिटमा बसेर आएकी नाताले हजुरआमा पर्ने ६५ वर्षीया वृद्धामा पनि कोरोना संक्रमण देखिएको थियो । २० गते संक्रमण पुष्टि भएकी हजुरआमा पनि १७ औं दिनका दिन, वैशाख ६ गते डिस्चार्ज भएर घर गइसकेकी छिन् । उनी पनि धवलागिरि अस्पतालकै आइसोलेसन वार्डमा भर्ना भएकी थिइन् । मुटु र दमरोगी उनले पनि सहजै कोरोनाबाट पार पाएकी थिइन् ।
अंशुसँगै डिस्चार्ज हुनेको संख्या ११ पुगेको छ । नेपालमा हालसम्म ४९ जना कोरोना संक्रमित फेला परेका छन् । ३८ जना विभिन्न अस्पतालको आइसोलेसन वार्डमा चिकित्सकको निगरानीमा छन् ।