कोरोना अपडेटः विश्वभर संक्रमितको संख्या ३० लाख ६१ हजार नाघ्यो

-


     मर्दी न्युज    
     १६ बैशाख २०७७ मा प्रकाशित


पोखरा । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३० लाख नाघेको छ । विश्वका २१३ राष्ट्रमा फैलिएको कोरोना संक्रमणबाट हालसम्म ३० लाख ६१ हजार ९७० जना संक्रमित भइसकेको छ ।

जसमध्ये सबैभन्दा धेरै अमेरिकामा संक्रमित छन् । अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या १० लाख १० हजार १२३ जनामा पुष्टि भैसकेका छन् ।

त्यस्तै स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ४२२, इटलीमा १ लाख ९९ हजार ४१४, फ्रान्समा १ लाख ६५ हजार ८४२, जर्मनीमा १ लाख ५८ हजार ७५८, बेलायतमा १ लाख ५७ हजार १४९ र टर्कीमा १ लाख १२ हजार २६१ जनामा संक्रमणको पुष्टि भइसकेको छ ।

कोरोनाका कारण विश्वभर २ लाख ११ हजार बढीको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ११ हजार नाघेको छ । विश्वभर महामारीको रुपमा फैलिएको करोना संक्रमणका मंगलवार बिहानसम्म ज्यान गुमाउनेको संख्या २ लाख ११ हजार ४३६ पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार सबैभन्दा धेरै अमेरिकामा ५६ हजार ७९६ जनाको कोरोनाका कारण ज्यान गएको छ । त्यस्तै इटलीमा २६ हजार ९७७, स्पेनमा २३ हजार ५२१, फ्रान्समा २२ हजार २९३ तथा बेलायतमा २१ हजार ९२ मानिस कोरोनाबाट मृत्यु भएको छ ।

विश्वभर संक्रमित हुनेको संख्या तथा त्यसबाट हुने मृत्यु दर पनि घट्दो छ । विश्वभर गरी ९ लाख २१ हजार १४७ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । हाल १९ लाख २९ हजार ३९२ जना संक्रमितको उपचार भइरहेको छ । ५६ हजार २९३ कोरोना संक्रमितको अवस्था गम्भीर रहेको र बाँकीको स्वास्थ्य मध्यम रहेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५२ पुगेको छ भने कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । संक्रमितमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । उपचाररत बाँकी ३६ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।