‘होटल बन्द गर्ने र तलब कटौती गर्ने प्रस्ताव अमान्य’

-


     मर्दी न्युज    
     २३ बैशाख २०७७ मा प्रकाशित


पोखरा । आगामी ६ महिनासम्म होटल बन्द गर्ने र मजदुरको तलब कटौती गर्ने गरी होटल व्यवसायीहरूले अगाडि सारेको प्रस्ताव आफूहरूलाई मान्य नहुने होटल मजदुरहरूले जनाएका छन ।

होटल संघ नेपाल (हान)ले कोरोना भाइरसका कारण संकट उत्पन्न भएको भन्दै ६ महिना तारे होटल बन्द गर्ने र कर्मचारीहरुलाई १२.५ प्रतिशत मात्र तलब दिने निर्णय प्रस्ताव गरेको थियो ।

मजदुरहरूले चाहिँ आफूहरूसँग छलफल नै नगरि उक्त प्रस्ताव ल्याइएको भन्दै फिर्ता गर्न आग्रह गरेका छन । अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो रेष्टुरेण्ट मजदुर युनियन र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघले विज्ञप्ति प्रकाशित गरी हानको निर्णयप्रति आपत्ति जनाएका छन ।

हानले एकतर्फी रुपमा गरेको निर्णय आफूहरुलाई मान्य नहुने र श्रमिकहरुको पारिश्रमिक, सेवा सुबिधा र रोजगारीको संरक्षणका निम्ति संघर्षमा उत्रने पनि विज्ञप्ति मार्फत चेतावनी दिइएको छ ।

हाल नेपालमा ठूला रिसोर्ट तथा तारे होटलहरूको संख्या झण्डै ३३ सयको हाराहारीमा रहेको र झण्डै १० देखि ११ लाख श्रमिक ती प्रतिष्ठानहरूमा आश्रित रहेको होटल संघको भनाइ छ ।