तस्विरहरुः गंगा घले
पोखरा, २४ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापि महामारीको सबैभन्दा धेरै असर पर्यटन व्यवसायमा पर्नगएको छ । पर्वतीय पर्यटन (ट्रेकिङ तथा पर्वतारोहण) मा भरिया, नाइके तथा किचन ब्वाईको रूपमा दैनिक ज्यालार मजदुरीमा परिवारको पालनपोषण गर्दै आइरहेका विपन्न र आधारभुत तहमा कामगर्ने जनशक्ति एकदमै मारमा परेका छन ।
चैत र वैशाख महिना अघिल्लो वर्षहरुमा यस व्यवसायमा आवद्ध मजदुरहरुको लागि यो सिजन राम्रै कमाई हुने समय हो । यस वर्ष सन २०२० को सुरुदेखि नै कमाई नभएको र अब काम कहिले पाइने भन्नेकुराको पनि कुनै सुनिश्चित नभएकाले यस क्षेत्रमा आबद्ध मजदुरहरुलाई समस्या पर्न गएको छ । धेरै पर्यटन मजदुरहरुको घरमा चुल्हो बल्न नसक्ने अबस्था सृजना भएको छ ।
यसै सन्दर्भमा युवा पर्यटन व्यवसायी तथा लामा राइजेन ट्रेक्स एन्ड एक्स्पिडिसन प्रा.लि का संचालक छिरिङ्ग लामा शेर्पा तथा उहाँको परिवारले आर्थिक सहयोग र मर्दीन्युज टिमको मध्यस्थतामा पोखरा महानगरपालिका वडानं ७ र ८ मा डेरागरि बस्ने अतिविपन्न ट्रेकिङ भरिया र मजदुरहरुको १५ परिवारलाई प्रति परिवार एक एक बोरा चामल, दुई लिटर खानेतेल, एक केजी नुन, दाल, चना, केराउ एक÷एक किलोको दरले मंगलवार दिउँसो वितरण गरिएको थियो ।
विपन्नलाई सहयोग गर्न पाउँदा शेर्पालाई खुशी लागेको बताउनुभयो । ‘यो कसैलाई देखाउन र प्रतिस्पर्धा गर्नुभन्दा पनि संकटको बेला मानवीय सहयोग गर्न पाउँदा सन्तोष लागेको छ’, छिरिङ्ग लामा शेर्पाले भन्नुभयो ।
तस्विरहरुः गंगा घले ।