पोखरा, २९ वैशाख । नेपालमा सोमवार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका– ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका– ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
यसैगरी बर्दिया राजापुर नगरपालिका– ५ कि ११ वर्षीय बालिकामा पनि कोरोना संक्रमण देखिएको छ ।
सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आजकै दिनमा नेपालमा २४ संक्रमित थपिएका छ । कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।