काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बारा तथा पर्साले कडाई गरिएको छ । एकै दिन ३९ जना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार साँझ ८ बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
पर्सा जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका र अति जोखिममा रहेका स्थानमा नेपाली सेना परिचालन गर्ने निर्णय गरेको समेत जानकारी दिएको छ ।
पर्सा जिल्लाबाट अन्य जिल्लामा र अन्य जिल्लामा पर्सा जिल्लाबाट हुने आवतजावत जेठ ५ गते राति १२ बजेसम्म बन्द गरिएको छ ।
यसैगरी बारा जिल्ला प्रशासन कार्यालयले पनि बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
अत्यावश्यक ढुवानी र पसल सञ्चालनबाहेक आयोजनाहरुको विकास निर्माण र उद्योगहरुमा वीरगन्जका मजदुरलाई काममा नलगाउनसमेत प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले निर्देशन दिएका छन् ।
निषेधाज्ञाको समयमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स र औषधिजस्ता अति आवश्यक सेवाबाहेक सबै पसल, उद्योग, व्यवसाय र सेवा बन्द गर्ने प्रशासनले निर्णय गरेको छ ।