कोरोना भाइरस: उच्च जोखिममा बेलायतमा रहेका भूतपूर्व गोर्खा सैनिक परिवार

-


     मर्दी न्युज    
     ३ जेष्ठ २०७७ मा प्रकाशित


भगीरथ योगी

लन्डन । ७२ वर्षीया दिलमाया थापा भूतपूर्व गोर्खा सैनिक परिवारकी हुन । उनी ब्रिटेनको अल्डरशट सहरमा बस्छिन् जहाँ नेपालीहरूको बाक्लो बसोबास रहेको छ।

ब्रिटेनमा कोरोनाभाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएपछि उनीजस्ता हजारौँ भूतपूर्व गोर्खा सैनिकका परिवार चिन्तित बनेका छन्।

“हुलाकीले हामी बसेको घरको ढोकाको प्वालमा एउटा चिठी ल्याएर छोडिदिएको दुई दिन भयो, तर डरले मैले त्यो चिठी भित्र ल्याएकी छैन। फेरि मेरा श्रीमान्‌ले आँखा देख्दैनन्, मलाई पढ्न आउँदैन,” उनले भनिन्।

दिलमायाको डेरामा टेलिभिजन छैन। श्रीमान् बिरामी भएकाले उनी नेपालीहरूको कार्यक्रममा पनि जाँदिनन् । उनी फुर्सद भएको बेला रेडियोमा नेपाली समाचार र गीत सुन्छिन्।

“कोरोनाभाइरसबाट कसरी बच्ने भन्ने त थाहा छ। बाहिर गएर आएपछि २० मिनेट साबुन पानीले मिची मिची हात धुनु पर्छ भन्ने सुनेकी छु,” उनले भनिन्।

तर विश्व स्वास्थ्य सङ्गठनका अनुसार मिचीमिची हात धुनुपर्ने चाहिँ २० सेकेण्ड मात्रै हो।

ब्रिटेनमा कोरोनाभाइरसको महामारीका कारण मे महिनाको दोश्रो सातासम्ममा ३३ हजारभन्दा बढीको ज्यान गइसकेको छ, जुन युरोपमै सबैभन्दा बढी हो।

लन्डनस्थित नेपाली दूतावासका अनुसार सोही अवधिमा ब्रिटेनमा ६० जनाभन्दा बढी नेपालीहरूको निधन भएको छ। ती मध्ये झन्डै ८० प्रतिशत भूतपूर्व गोर्खा सैनिकहरू छन्।

कमजोर स्वास्थ्य अवस्था

पुर्ख्यौली घर स्याङ्जा भएका भूतपूर्व गोर्खा सैनिक ८१ वर्षीय हस्तवीर थापा आफ्नी श्रीमती चित्रमाया थापालाई लिएर सन् २०१६ मा यूके आइपुगे।

उनी मधुमेह, उच्च रक्तचाप, रक्तअल्पता लगायतका स्वास्थ्य समस्याबाट पीडित छन्। ७८ वर्षीया चित्रमाया पनि बेलायत आइसकेपछि मिर्गौला रोगबाट पीडित भइन्।

लन्डनको फेल्थममा बसोबास गर्ने उनी हप्तामा ३ पटक पश्चिम लन्डनको एक अस्पतालमा डायालिसिस गर्न जान्छिन । थापा दम्पत्ति दुवै अशक्त भएकाले सोही घरमा बस्ने एक नेपाली परिवारले साँझ, बिहान उनीहरूलाई तातो खाना पुर्‍याइदिन्छन् । त्यसबापत आफूले केही रकम दिने गरेको चित्रमायाले बताइन्।

संयोग नै भनौँ, सोही घरमा एक नेपाली नर्स कमला राना पनि बस्छिन् । उनले कार्यालयको व्यस्तताबाट समय निकालेर थापा दम्पतीलाई चिकित्सककहाँ पुर्‍याइदिने र अस्पतालमा समय मिलाइदिने जस्ता काम गर्छिन्।

“उहाँहरू दुवै जनाको स्थिति निकै नाजुक छ, कोरोनाभाइरसले जोखिम झन् बढाएको छ। उहाँहरू मलाई आफ्नै हजुरबुवा, हजुरआमा जस्तो लाग्छ, त्यसैले मैले सक्दो सहयोग गरिरहेकी छु,” कमलाले भनिन्।

उच्च मृत्युदर

गोर्खा

अश्वेत, एशियाली तथा जातीय अल्पसङ्ख्यक (बिएएमइ) समुदायमा कोरोनाभाइरसका कारण मृत्युदर किन उच्च छ भन्नेबारे ब्रिटिश सरकारले एउटा अध्ययन गर्न लगाएको छ।

हालै एउटा ब्रिटिश अखबारमा एक लेख लेख्दै लन्डनका मेयर सादिक खानले ब्रिटेनमा (बिएएमइ) कुल जनसङ्ख्याको १४ प्रतिशत मात्रै भए पनि अस्पतालहरूमा भर्ना भएका कोरोनाभाइरसका गम्भीर बिरामीहरूमध्ये एक तिहाइ बिएएमइ समुदायको भएको बताए।

नेपाल पत्रकार महासङ्घ यूके शाखाले हालै गरेको एक सर्वेक्षणले ६५ वर्षमाथिका अधिकांश भूतपूर्व गोर्खा सैनिकहरूले भाषाका कारणले स्वास्थ्य सुविधा प्राप्त गर्न कठिनाइ बेहोर्नु परेको देखाएको छ।

कोरोनाभाइरस सङ्क्रमित भएपछि एक साता अस्पतालमा उपचार गरेर फर्केका ब्रिटिश सांसद वीरेन्द्र शर्मा पनि यस्तो समस्यालाई तत्काल सम्बोधन गर्नुपर्ने बताउँछन्।

“विश्वव्यापी महामारीको अहिले जस्तो अवस्थामा सबै आवश्यक भाषाहरूमा परामर्श दिइनु पर्छ र जटिल तथा अत्यावश्यक सेवा चाहिने मानिसहरूलाई दोभाषे उपलब्ध गराइनु पर्छ,” अल पार्टी पार्लियामेन्टरी ग्रुप अन नेपालका अध्यक्षसमेत रहेका सांसद शर्माले भने। बीबीसी