पोखरा, ५ जेठ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणकाबीच भारतले आइतबार चौथो पटक लकडाउन लम्ब्याउने निर्णय गरेको छ । भारतले केही शर्तसहित मई ३१ सम्मअर्थात जेठ १८गतेसम्मका लागि १४ दिन थप्ने घोषणा गरेको हो ।
पहिलो पटक भारतमा मार्च २५ देखि अप्रिल १३ सम्मका लागि गरिएको लकडाउन दोस्रो पटक १४ अप्रिलदेखि ३ मईसम्मका लाथि थप गरेको थियो । तेस्रो पटक ४ मईदेखि १७ मईसम्मका लागि थपिएको लकडाउन आइतबार समाप्त हुँदै थियो ।
भारतमा हालसम्म कोरोना भाइरस (कोभिड–१९)को संक्रमित संख्या ९५ हजार ६९८ जनामा पुष्टि भएको छ । कोभिड–१९ को संक्रमणबाट भारतमा ३ हजार २५ जनाको मृत्यु भएको छ भने ३६ हजार ७९५ जना संक्रमित निको भइ घर फर्किसकेका छन् ।
भारतको महाराष्ट्र राज्यमा कोरोना भाइरसका सबैभन्दा बढी प्रभावित राज्य हो । महाराष्ट्रमा २५ हजारभन्दा बढी संक्रमित छन् । महाराष्ट्र र तामिलनाडूले यसअघि नै लकडाउन मई ३१ सम्मका लागि थप्ने निर्णय गरिसकेको थियो ।