पोखरा, ११ जेठ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभरमा ज्यान गुमाउने संख्या ३ लाख ४३ हजार नाघेको छ । वल्डोमिटर्सको आइतबार बिहानसम्मको तथ्याङ्कअनुसार कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ४३ हजार ७९८ पुगेको छ ।
कोरोनाको सबैभन्दा धेरै प्रभाव अमेरिकामा परेको छ । अमेरिकामा हालसम्म ९८ हजार ६ सय ८३ जना कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । त्यस्तै बेलायतमा ३६ हजार ६ सय ७५, इटलीमा ३२ हजार ७ सय ३५, स्पेनमा २८ हजार ६ सय ७८, फ्रान्समा २८ हजार ३ सय ३२ र ब्राजिलमा २२ हजार १३ जना संक्रमितको ज्यान गइसकेको छ ।
कोरोना संक्रमितको संख्या विश्वभर गरी ५४ लाख १ हजार २ सय २२ पुगेको छ । अमेरिकामा मात्रै १६ लाख ६६ हजार ८२८ को पुष्टि भएको छ । त्यस्तै ब्राजिलमा ३ लाख ४७ हजार ३ सय ९८ संक्रमित भएका छन् । यसैगरी रसियामा ३ लाख ३५ हजार ८ सय ८२ जना संक्रमित छन् ।
विश्वभर २८ लाख १० हजार ३ सय २६ जनाको उपचार भइरहँदा ५३ हजार ५ सय ६२ संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । हालसम्म २२ लाख ४७ हजार ९८ जना संक्रमितको उपचार पछि निको भइ घर फर्किसकेका छन् ।