पोखरा, १६ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको आज ६७ वर्ष पूरा भएको छ । २ साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको शिखरमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए । यस घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपालले सगरमाथाको देश भनेर संसारभर ख्याति पायो ।
सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउने गरिन्छ ।
तर यसवर्ष विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण औपचारिक कार्यक्रम हुन सकेको छैन ।
जनवरी महिनाको सुरुदेखि देखा परेको कोरोनाका कारण चिनियाँ सर्वेक्षकहरुको एक समूहबाहेक यसपटक सगरमाथा आरोहण हुन सकेको छैन । चिनियाँ ८ जना आरोहीहरू स्थानीय समयअनुसार गत बुधबार (जेठ १४) बिहान ११ बजे सगरमाथाको टुप्पोमा पुगेको सिन्हवाले बताएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी सुरु भएयता सगरमाथाको चुचुरोमा पुगेको यो नै पहिलो समूह हो ।
यस्तै २०७२ सालको विनाशकारी भूकम्पका कारण पनि सगरमाथाको आरोहण हुन सकेको थिएन ।
सगरमाथा आरोहणका क्रममा हालसम्म गत वर्षसम्म २९० भन्दा बढीको निधन भइसकेको छ । आरोहणका नयाँ विश्व कीर्तिमान पनि कायम भएका छन् ।
सोलुखुम्बुकी स्व पासाङ ल्हामु शेर्पाले विसं २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी सगरमाथा चढ्ने प्रथम महिला आरोहीको कीर्तिमान कायम गरेका थिए । जापानी नागरिक स्व जुन्को तावेई विश्वकै पहिलो महिला सगरमाथा आरोही मानिन्छन् ।
पछिल्लो पटक कामिरिता शेर्पाले सगरमाथाको २४ औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् । उनले वसन्त ऋतुको यस याममा गएको वर्ष जेठ ७ गते आफ्नै २३ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ रेकर्ड बनाएका हुन् । उनले सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका हुन ।
कामिरितापछि हालसम्म आप्पा शेपा, ङिमानुरु शेर्पा र फुर्वाटासी शेर्पाले २१ पटक तथा आङदोर्जी शेर्पा, छेवाङङिमा शेर्पा १९ र मिङ्माछिरी शेर्पाको १९ पटक सगरमाथा आरोहणको कीर्तिमान छ । त्यस्तै लाक्पारिता शेर्पाले १७ र निमा गोम्बु शेर्पाले १६ पटक सगरमाथा आरोहण गरेकी छन् ।
आरोही हिलारीको सन् २००८ जनवरी ११ मा निधन भएको थियो भने नोर्गेको सन् १९८६ मे ९ मा निधन भएको थियो । नेपालमा सन् २००८ मा साहसी आरोही हिलारीको निधन भएको सन्दर्भ पारेर यो दिवस मनाउन थालिएको हो ।