कोरोना भाइरसः विश्वभर ३ लाख ७९ हजारको मृत्यु, ६१ लाख ५३ हजार बढी संक्रमित

-


     मर्दी न्युज    
     १८ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, १८ जेठ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ३ लाख ७० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । वल्डोमिटर्सको आइतबार बिहानसम्मको तथ्याङ्कअनुसार कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ७० हजार ८ सय ७० पुगेको छ ।

कोरोना भाइरसबाट विश्वभर गरी हालसम्म ६१ लाख ५३ हजार ३७९ जनामा संक्रमित भइसकेको तथ्यांकले देखाएको छ । संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा छन् । अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या १८ लाख १६ हजार ८२० जनामा पुष्टि भैसकेको छ ।

यसैगरी अमेरिकापछि सबैभन्दा धेरै संक्रमित हुने राष्ट्रमा ब्राजिल पुगेको छ । ब्राजिलमा ४ लाख ९८ हजार ४४० जना कोरोना संक्रमित छन् । त्यस्तै रसियामा ३ लाख ९६ हजार ५७५, स्पेनमा २ लाख ८६ हजार ३०८, बेलायतमा २ लाख ७२ हजार ८२६ तथा इटलीमा २ लाख ३२ हजार ६६४ जनामा संक्रमणको पुष्टि भइसकेको छ ।

कोरोनाका कारण ज्यान गुमाउनेमा पनि सबैभन्दा धेरै अमेरिका छ । अमेरिकामा १ लाख ५ हजार ५५७ जना कोरोना संक्रमणबाट ज्यान गएको छ । यसैगरी बेलायतमा ३८ हजार ३७६, इटलीमा ३३ हजार ३०४, ब्राजिलमा २८ हजार ८३४, फ्रान्समा २८ हजार ७७१ तथा स्पेनमा २७ हजार १२५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

विश्वभर २७ लाख ३४ हजार ५४९ जना उपचारपछि निको भई घर फर्किसकेका छन् । उपचाररत ३० लाख ४७ हजार ९६० जनामध्ये ५३ हजार ५०३ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ भने बाँकीको सामान्य अवस्थामा उपचार भइरहेको छ ।

नेपालमा कोरोना संक्रमणबाट ७ जनाको ज्यान गएको छ । गत आइतबारदेखि संक्रमितको संख्या निरन्तर बढ्दो छ । गत आइतबार १९ जना, सोमवार ७९, मंगलवार ९०, बुधवार ११४, बिहीबार १५६, शुक्रवार १७०र शनिवार १७९ जनामा संक्रमित पुष्टि भएको छ । नेपालमा हालसम्म संक्रमित संख्या एक हजार ४०१ पुगेको छ भने २१९ जना उपचारपछि निको भई घर फर्किएका छन् ।