काठमाडौं, १९ जेठ । बलिऊडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ । आइतबार राती उनको ४२ बर्षको उमेरमा निधन भएको हो । मृगौला पीडित खानमा पछिल्लो समय कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । यद्दपी कोरोना सङ्क्रमणबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन् ।
‘साजिद वाजिद’को नामले चर्चित संगीतकारमध्ये वाजिदको निधनले ठूलो क्षति भएको जनाउँदै अर्का संगीतकार सलिम मर्चेन्टले वाजिदको निधनको पुष्टि गरेका छन् । मृगौलामा सङ्क्रमण भएपछि उनीे पछिल्लो चार दिनदेखि भेन्टिलेटरमा थिए । केही दिनअघि मात्रै उनको मृगौला प्रत्यारोपण गरिएको थियो । मुम्बईस्थित चंगुरको अस्पतालमा उनलाई भर्ना गरिएको थियो ।
सन् १९९८ मा सलमान अभिनित चलचित्र ‘प्यार किया तो डरना क्या’बाट वाजिदले बलिउडमा संगीतको काम सुरु गरेका थिए । यसका साथै उनले ‘दबंग ३’को सबै गीतमा संगीत भरेका थिए । उनले ‘मेरा ही जलवा, सोनी दे नखरे, माआअल्लाह, डू यु वन्ना पार्टनर’ लगायतका हिट गीतमा संगीत भरेका छन् । उनले सन् २०११ म ‘फिल्मफेयर अवार्ड’मा उत्कृष्ट संगीतकारको अवार्ड पनि प्राप्त गरेका थिए ।
वाजिदको निधनले सिंगो बलिउड नै स्तब्ध बनेको छ । केही साता अगाडि मात्र बलिउडका दुई चर्चित कलाकार इरफान खान र ऋषि कपुरलाई गुमाएको बलिउडले आइतबार राती अर्का चर्चित संगीतकार वाजिद खानलाई गुमाएको छ ।