काठमाडौ । राष्ट्रपति कार्यालयको बैठक कक्षमा गलैंचा फेर्ने कम्पनीका सञ्चालकले लागत भन्दा तेब्बर रकम बढाई गलैंचा फेर्न लागियो भनी अफवाह फैलाइएकोप्रति आश्चर्य प्रकट गरेका छन् ।
सोमबार केही सञ्चारमाध्यमबाट शितल निवासमा एक करोडको गलैंचा फेर्न लागिएको समाचार बाहिर आएको थियो । तर, गलैंचा फेर्न टेण्डर पारेका हिमालयन डेकोरका प्रवन्ध निर्देशक शोभा गुरुङले जम्मा काम नै २७ लाख ५४ हजारको टेण्डर खुलेको जानकारी दिनुभयो ।
‘त्यहाँका बैठक कोठामा गलैंचा फेर्ने जिम्मेवारी हामीले नै पाएका हौं । सरकारी कार्यालयबाट प्रतिष्पर्धा गरेर तोकिएको रकम अनुसार काम हुन लागेको हो । तर कहाँबाट करोडको कुरा आयो आश्चर्य लागेको छ, गुरुङले भन्नुभयो ।
भइरहेका पुराना र विदेशी मेसिनबाट बनेका गलैंचाको साटो हातले बनेका नेपाली गलैंचा फेर्न शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गत वैशाख १२ गते पहिलोपल्ट टेण्डर निकालेको थियो ।
उक्त सूचनामा नेपाली उनी गलैंचा सप्लाई गर्न क्षेत्रफल सहित करिब २७ लाख ५४ हजारको अनुमानित लागत समेत तोकी प्रतिष्पर्धा गराइएको थियो ।
‘विदेशी भन्दा स्तरीय र केही महंगो हुने नेपाली गलैंचा सस्तोमा फेरिन लागेको हो । तर करोड खर्च भनेर सार्वजनिक गर्नु दुखद कुरा हो, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष समेत रहनुभएका गुरुङले भन्नुभयो ।
करिब ३ वर्ष अघि शितल निवास र कार्यालय नयाँ भवनमा छ । पुरानो भवन महाभूकम्पपछि चर्किएको थियो ।नयाँ भवनमा विभिन्न बैठक कक्ष, विदेशी पाहुनलाई स्वागत लगायत कक्ष छन् । नयाँ भवनमा विभिन्न बैठक कक्ष, विदेशी अति विशिष्ट पाहुनासँग स्वागत र छलफललगायत कक्ष छन् ।
त्यस्तो महत्वपूर्ण ठाउँमा नेपाली मौलिक उत्पादन राख्न, नेपालीपनको झल्को दिन उपर्युक्त हुने ठानी नेपाली गलैंचा राख्न लागिएको हो ।
यस्ता उत्पादनलाई नेपालमै प्रयोग गर्दा प्रोत्साहन पनि हुने भन्दै घरेलु महासंघले पहिलेदेखि नै स्वदेशी गलैंचा प्रयोग गर्न माग राख्दै आएको थियो ।
सोही क्रममा थोरै खर्च गरी राष्ट्रपति कार्यालयजस्ता विशिष्ट ठाउँमा उपयोग गर्दा बढाईचढाई गरी कोकोहोलो गर्नु अशोभनीय हुने उपाध्यक्ष गुरुङको तर्क छ ।
‘मिडियाले भएका कुरा बाहिर ल्याउँदा राम्रो हुन्छ । हामी स्वागत पनि गर्छौं । तर, तथ्यभन्दा बाहिर गएर सम्मानित संस्थालाई बेकारको विवादमा तान्नु कसैको हितमा छैन, उहाँले भन्नुभयो ।
शितल निवासका जनसम्पर्क उपसचिव हिरामणी आचार्यले पनि गलैंचा फेरिएको रकमबारे बाहिर बढाइचढाई गरेर आएको प्रतिक्रिया दिनुभयो ।
सबै रकम पारदर्शी भएको, नियमानुसार कम भन्दा कम मूल्यमा नेपाली गलैंचा ल्याउने कुरा भएको उल्लेख गर्दै आचार्यले भन्नुभयो, ‘तथ्य एकातिर, समाचार अर्कैतिर आइदियो । हामी दुखी छौं ।’ – खुला नेपाल