पोखरा । कोरोना भाइरस संक्रमण फैलिनसक्ने भन्दै आयतीत फलफूल तथा तरकारी भित्र्याउन रोक लगाएकोमा व्यापक विरोधपछि पोखरा महानगरपालिकाले छुट्टै मापदण्ड तय गरी भित्र्याउने भएको छ ।
सोमवार महानगरले निर्देशनात्मक सूचना जारी गरी पोखरा महानगरपालिकामा अन्यत्र जुनसुकै स्थानबाट अत्यावश्यक वस्तुका रुपमा फलफूल तथा तरकारी भित्र्याउँदा अनिवार्य रुपमा चेकजाँच गर्नुपर्ने बताएको छ ।
सूचनामा कास्की जिल्ला तथा महानगरपालिकाका प्रवेशद्वारहरुमा फलफूल तथा तरकारी अनिवार्य रुपमा आवश्यक चेकजाँच गर्ने, फलफूल तथा तरकारीहरुको खरिद दररेट मूल्य खुलेको सक्कल बिल अनिवार्य रुपमा पेश गर्नुपर्ने, खरिद मूल्य र बिक्री मूल्य सम्बन्धमा महानगरले अनुगमन गरिने उल्लेख गरेको छ ।
त्यस्तै अन्य जिल्लाबाट आएको फलफूल तथा तरकारीहरु कास्की जिल्ला तथा महानगरको कुन स्थानमा झार्ने हो प्रष्ट खुलाउनुपर्ने, प्रवेशद्वारमा अभिलेख राख्नका लागि अन्य आवश्यकीय कागजातको छायाँ प्रतिलिपि उपलब्ध गराउनुपर्ने, फलफूल तथा तरकारी ढुवानी गर्ने साधनमा चालक र एक जना सहयोगीबाहेक अन्य यात्रीहरु ओसार पसार गर्न नपाइने उल्लेख गरेको छ ।
यसअघि महानगरको जेठ ११ गतेको सर्वपक्षीय बैठकले कोरोना महामारी भित्रन सक्ने भन्दै बाहिरी जिल्लाबाट तरकारी तथा फलफूल ल्याउन नदिने निर्णय गरेको छ ।
गएको १५ गते काभ्रे, चितवनलगायतका जिल्लाबाट पोखरा भित्र्याइएको तरकारी पोखरा १५ का स्थानीयले नियन्त्रणमा लिएर खाल्डो खनी गाडेका थिए ।
तरकारी तथा फलफूलबाट कोरोना सर्ने अहिलेसम्म संसारमा कुनै पनि अध्ययनले देखाएको छैन । तरकारी तथा फलफूल नष्ट गरेपछि सामाजिक सञ्जालमा यसको व्यापक विरोध भएको थियो ।