
तस्विरहरुः गंगा घले
पोखरा, २१ जेठ । सन १९५० को जून ३ तारीख (आजकै दिन) फ्रेन्च नागरिकहरु मौरिस हर्जोग र लुइस लाचेनलले अन्नपूर्ण हिमशृङ्खलाको सबैभन्दा अग्लो चुचुरो अन्नपूर्ण प्रथम (८०९१ मि.) को सफलतापुर्वक आरोहण गरेका थिए । आठ हजार मिटर भन्दा अग्लो चुचुरोमा मानव पाइला पुगेको यो पहिलोदिन थियो । हिमाल आरोहणको दृष्टिकोणबाट अन्नपूर्ण प्रथमलाई जेठो हिमालको रूपमा लिइन्छ ।
आजभन्दा ठीक ७० वर्ष अगाडिको त्यो एतिहासिक दिनले विभिन्न किसिमका कीर्तिमान र मानव जगतकै लागि नयाँ प्रेरणा र हौसला थपेको थियो ।

फ्रान्सबाट भारतको नयाँदिल्ली, लखनउ हुँदै नेपाल–भारत सिमानाको नौतुना आएको आरोहणदललाई नेपाली सरदार आङ्ग थार्के शेर्पाको टिमले भेटेर मालसामान तथा बन्दोबस्तीका सामानसहित गाडीमा बुटवल आएको दस्तावेजहरु मा भेटिन्छ । त्यो बेला नौतुनाबाट बुटवलसम्म कच्ची सडक बनेको थियो । झन्डै २०० जना भरियाहरु र शेर्पाहरु लिएर तानसेन, बागलुङ, दाना हुँदै मुस्ताङको टुकचे गाउँ पुगेर उनीहरु अन्नपूर्णको उत्तरी आधार शिबिरतर्फ लागेका थिए । आरोहण सफल गरेर फर्किने बेला भने कुश्माबाट कार्किनेटा हुदै आधिंखोला पुतलीखेतको बाटो तानसेनतर्फ लागेका थिए ।
यस्तै थुप्रै रोमाञ्चक र बहादुरीपूर्ण कुराहरु समेटेर मौरिस हर्जोगले सन १९५१ मा “अन्नपूर्ण” नामक पुस्तक लेखेका थिए । उक्त पुस्तक बिश्वप्रख्यात भयो र नेपाललाई बिश्वमा चिनाउने माध्यम बन्यो । सो पुस्तक सन २००० सम्ममा एक करोड दश लाख प्रति बिक्री भएको थियो ।

यस एतिहासिक तथा विशेष दिनको सम्झनामा नेपाल पर्वतारोहण संघ केन्द्रीय कार्यालय तथा नेपाल पर्वतारोहण संघ, अन्नपूर्ण शाखा (हाल गण्डकी प्रदेश शाखा) ले आफ्नो स्थापनाकाल देखिनै विभिन्न कार्यक्रमहरु (आरोही सम्मान, गन्तव्य प्रबर्द्धन, जनचेतनामूलक कामहरु, वृक्षरोपण इत्यादि) गरि मनाउने गरेकोछ ।
यसवर्ष भने कोभिड–१९ सिर्जित विश्वव्यापी महामारी र असहज परिस्थितिका कारण औपचारिक कार्यक्रम नगरीने भएको छ । सम्पुर्ण नेपालीहरु तथा पर्वतारोहण सम्वद्द महानुभाबहरुमा हार्दिक शुभकामना ।
जय अन्नपूर्ण !!!


