चौतर्फ विरोधपछि कर तिर्ने समय असार ७ सम्म बढ्यो

-


     मर्दी न्युज    
     २१ जेष्ठ २०७७ मा प्रकाशित


काठमाडौं । चौतर्फी आलोचनापछि सरकारले कर तिर्ने समयावधी बढाएको छ । आन्तरिक राजस्व विभागले बाँकी रहेका कर तिर्ने म्याद जेठ २५ गते सकिने सूचना जारी गरेकोमा चौतर्फी आलोचनापछि त्यसलाई बढाएर असार ७ गते पुर्याएको हो ।

अब सर्वसाधारण तथा व्यवसायीले असार ७ सम्म कर तिरे हुनेछ । सोमबारमात्र विभागले सूचना जारी गर्दै जेठ २५ भित्र कर तथा कर विवरण नबुझाएमा शूल्क, थप दस्तुर, ब्याज तथा जरिवाना तिर्नुपर्ने चेतावनी दिएको थियो । लकडाउनका अवधिमा पनि कर तिर्नुपर्ने सूचनाका कारण सर्वसाधारण व्यवसायीदेखि सांसदहरुले समेत यसको विरोध गरेका थिए ।

गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को निर्णयले चैत र वैशाखमा तिर्नुपर्ने करको म्याद जेठ २५ का लागि बढाएको थियो । त्यसयता मन्त्रिपरिषद्ले कर तिर्ने समयावधी बढाउने कुनै निर्णय गरेको छैन । सरकारले जेठ अन्तिमसम्म लकडाउन कायमै राख्ने निर्णय गरेको थियो ।


नयाँ सूचनाअनुसार मूअ करतर्फ फागुन, चैत र वैशाखको मासिक, माघ र फागुन तथा चैत र वैशाखको द्धैमासिक र दास्रो चौमासिक चौमासिक कर विवरण तथा त्यसअनुसारको कर दाखिला गर्ने अन्तिम म्याद असार ७ कायम गरिएको छ । यसैगरी, अन्तःशूल्कतर्फ फागुन, चैत र वैशाखको बुझाउनुपर्ने विवरण तथा त्यसअनुसारको अन्तःशूल्क दाखिलाको म्याद पनि असार ७ नै बनाइएको छ ।