नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

-


     मर्दी न्युज    
     ९ असार २०७७ मा प्रकाशित


पोखरा, ९ असार । मंगलवार थप ५ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ५ सय ३८ जनामा संक्रमण पुष्टि भएको जानकारी गराए । मंगलवार संक्रमित हुनेमा ९० महिला र ४४८ जना पुरुष रहेको उनले जानकारी दिए

संक्रमित हुनेमा झापाका १२ जना, सप्तरीका २२, सुनसरीका ३ जना, मोरङका २ जना, तेह्रथुमका २ जना, महोत्तरीका १२ जना , अर्घाखाँचीका २ जना, बाग्लुङका ६ जना, बझाङका २२ जना, बाजुराका २० जना, डडेलधुराका ४ जना, धादिङका १८ जना, गोरखाका २९ जना छन् ।

यस्तै गुल्मीका ५ जना, कैलालीका ३८ जना, कञ्चनपुरका १७ जना, कास्कीका ८ जना, नवलपरासी पूर्वका २२ जना, पर्वतका २२ जना, प्युठानका ५० जना , रौटहटका १३ जना, रुपन्देहीका ३ जना, सर्लाहीका २ जना , सिरहाका ७ जना, स्याङजाका २२ जना, तनहुँका ८ जना, धनुषाका ३९ जना, बाग्लुङका ८ जना , लमजुङका ५ जना, पाल्पाका ४८ जना, दाङका १९ जना , सल्यानका ४ जना, सुर्खेतका २३ जना, दैलेखका ३५ जना, ,हुम्लाका १ जना, कालिकोटका १ जना र अछामका ७ जना रहेका छन् ।

यो सँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।

मंगलवारसम्म पीसीआर विधिबाट १ लाख ८६ हजार ३ सय ६६ जनाको परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए । यस्तै आरडीटी विधिबाट हालसम्म २ लाख ७१ हजार ५ सय ८४ जनाको परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार मंगलवारसम्म क्वारेन्टाइनमा ८५ हजार ८ सय १३ जना रहेका छन् भने ७ हजार ८ सय ५१ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा ८४ जना डिस्चार्ज भएका छन् । प्रवक्ता गौतमका अनुसार मंगलवार डिस्चार्ज हुनेमा ८ महिला र ७६ जना पुरुष रहेको छ । योसँगै कोरोना जितेर घर फर्किनेको संख्या २ हजार २ सय २४ पुगेको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ। सोमबार दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

गौतमका अनुसार उनको असार ८ गते (सोमबार) साँझ प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको हो। उनी क्षयरोग र दमका रोगी थिए। उनलाई असार ३ गते दैलेखबाट थप उपचारका लागि सुर्खेत रिफर गरिएको थियो।

असार ३ गते कोरोना परीक्षणका लागि लिइएको उनको स्वाबको रिपोर्ट असार ४ गते पोजिटिभ आएको थियो। उनको निधन भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या २४ पुगेको हो।



Tags: