पोखरामा गएराती मृत्यु भएका स्याङ्जामै पसल गर्थे, आज इमर्जेन्सी बाहेकका सेवा बन्द

-


     मर्दी न्युज    
     ११ असार २०७७ मा प्रकाशित


पोखरा । कोरोना भाइरसका संक्रमणबाट गएराति पोखरामा मृत्यु भएका ५५ वर्षीय व्यक्ति स्याङ्जाको सिरुबारीमै किराना पसल गर्ने गरेको पाइएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले दिएको जानकारीअनुसार मृतकको कुनै ‘ट्राभल हिस्ट्री‘ देखिँदैन ।

मृतकको घर अर्जुनचौपारी भएको र व्यवसाय आँधिखोला गाउँपालिका वडा नं. १ स्थित पञ्चमुलमा रहेको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए ।
‘उहाँलाई ज्वरो आएपछि पोखरा जानुभएको रहेछ । त्यहाँ चेक गर्दा कोरोना देखियो । बाहिर गएर आएको होइन, को कोसँग भेट भयो थाहा हुन सकेको छैन’ प्रमुख जिल्ला अधिकारी क्षेत्रीले भने ।

इमर्जेन्सी बाहेकका सेवा आज बन्द
गएराती स्याङ्जाका ५५ वर्षीय पुरुषको मृत्यु भएसँगै पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इमर्जेन्सी बाहेकका सबै सेवा बन्द भएको छ । कोरोना संक्रमणका कारण स्याङ्जाका ५५ वर्षे पुरुषको शव व्यवस्थापन गर्नुपर्ने भएकाले बिहीबार सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

शुक्रबारबाट सबै सेवा नियमित सञ्चालन हुने पनि उनले बताए । उपचारका लागि गत ८ जेठमा पोखरा आएका स्याङ्जाको आँधीखोला गाउँपालिकाका पुरुषको गएराती मृत्यु भएको हो ।

डाइबेटिज र निमोनियाबाट ग्रस्त ती पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि पोखरा ल्याएर भेन्टिलेटरमा राखिएको थियो ।