काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवाद समाधानका लागि भारत वार्ताका लागि सकारात्मक नभएको बताएका छन् ।
बुधबार शुरु भएको बैठक शुक्रबार एजेण्डामा प्रवेश गरेसँगै बैठकमा ज्ञवालीले सीमा विवादबारे ब्रिफिङ गरेका हुन् । नेपालले कूटनीतिक सम्वादमार्फत नै अतिक्रमित भूमि फिर्ता गर्न पहल गरिरहेको भन्दै उनले बैठकमा भनेका छन्, ‘तर अहिलेसम्म भारत वार्ताका लागि सकारात्मक देखिएको छैन ।’
यद्यपि भारत वार्तामा बस्न तयार हुने र कूटनीतिक सम्वादमार्फत नै समस्या समाधान हुने विश्वास सरकारले लिएको परराष्ट्रमन्त्रीले जानकारी गराएका छन् ।
यसैगरी उनले चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको भन्ने झूठो, नियोजित र भ्रामक प्रचारमा कुनै सत्यता नभएको र चीनसँग सीमाको सम्बन्धमा कुनै समस्या नरहेको पनि स्पष्ट पारे ।
शुक्रवारको स्थायी समिति बैठकमा १८ जनाले धारणा राखेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरूलाई जानकारी दिए ।
आजको बैठकमा स्थायी समिति सदस्यहरू लिलामणि पोखरेल, मातृका यादव, देव गुरुङ, गोकर्ण विष्ट, छविलाल विक, अमृत बोहोरा, पम्फा भुसाल, शंकर पोखरेल, वेदुराम भुसाल, रघुविर महासेठ, भिम रावल, मुकुन्द न्यौपाने, भिम आचार्य, अष्टलक्ष्मी शाक्य, गणेश शाह, केशव बडाल र नारायणकाजी श्रेष्ठले आफ्नो विचार राखेका छन्।
आजको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली उपस्थित भएनन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले बैठक सञ्चालन गरेका थिए।
बैठक बालुवाटारमा नै भोलि बिहान ११ बजे पुनः बस्नै पार्टी प्रवक्ता श्रेषठले जानकारी दिए।