रुपन्देहीमा पनि देखियो सलह

-


     मर्दी न्युज    
     १३ असार २०७७ मा प्रकाशित


शनिबार बिहान बारामा देखिएका सलह । तस्विरः जितेन्द्र यादव

पोखरा । शनिबार प्रदेश २ को बारा, सर्लाहीमा देखिएको सलह किरा प्रदेश ५ को रुपन्देहीमा पनि देखा परेको छ । भारतमा किसानहरुको बाली सखाप पारिरहेको सलह किरा सीमा क्षेत्र हुँदै रूपन्देही पसेका हुन् । शनिबार दिउँसो रूपन्देहीको बुटवल क्षेत्रमा सलह देखिएको हो ।

रुपन्देहीमा सलह कीरा भेटिएको आशङ्कामा प्रदेश ५ को कृषि विकास निर्देशनालयले अनुसनधानसमेत थालेको छ ।


भारतसँग सीमा जोडिएको जिल्लाको दक्षिणी क्षेत्रमा सलह कीरा भेटिएको आशङ्कामा अनुसन्धान शुरु गरिएको निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले जानकारी दिए । कृषि विकास निर्देशनालय र नेपाल कृषि अनुसन्धान (नार्क) ले सलह कीरा प्रदेश ५ को रुपन्देहीमा आएको हो वा होइन भनेर अनुसन्धान थालेका हुन् । ‘अनुसन्धानपछि यसबारे निरक्यौल हुनेछ’, देवकोटाले भने ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सेनाको ब्यारेकमा ठूलो सङ्ख्यामा कीरा देखिएको बताए । ‘त्यहाँ ठूलो आकारको फट्याङ्ग्रा ठूलो सङ्ख्यामा आएपछि सेनाले नियन्त्रणमा लिएको छ,’ उनले भने, ‘तर सलह हो वा होइन, अझै यकिन भएको छैन ।’

शनिबार दिउँसो रूपन्देहीको बुटवल क्षेत्रमा पनि सलह देखिएको हो ।