पोखरा, १५ असार । नेपालमा थप ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको जानकारी गराए । आज थप भएकामा ११२ महिला र ३६४ जना पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार संक्रमितहरु डोटीमा ९६ जना, बाजुराका ६४ जना, दाङका ५८, अर्घाखाँचीका ३८, बाजुराका ३२, कैलालीका ३०, पाल्पाका २६, गुल्मीका २०, रौतहटका १८, सप्तरीका १५, बाग्लुङका १४ र पर्वतका १३, काठमाडौं, ६, भक्तपुर १ र ललितपुर १ जना रहेका छन् ।
यस्तै, तनहुँका ९ जना, स्याङ्जाका ८, धनुषाका ६, गोरखा, प्युठान र रुपन्देहीका ५/५ जना, प्युठान, चितवन र महोत्तरीका ४/४ जना, कपिलवस्तु, धादिङ, डोल्पा र कालीकोटका २/२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, पर्सा, मोरङ, धनकुटा, खोटाङ, काभ्रे, मकवानपुर, रोल्पा, बारा र रुकुम पश्चिमका एक/एक छन् ।
यो सँगै संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ७ सय ९१ जनाको परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए । सोमवारसम्म पीसीआर विधिबाट २ लाख २३ हजार ६ सय ३० जनाको परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए । यस्तै आरडीटी विधिबाट हालसम्म २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा ५७ हजार ३ सय ६८ जना रहेका छन् भने १० हजार ८५ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा १३ महिला र १०८ जना पुरुष गरी १ सय १२१ जना डिस्चार्ज भएका छन् । प्रवक्ता गौतमका अनुसार योसँगै कोरोना निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार १ सय ३४ पुगेको छ ।
थप एक मृत्यु
ललितपुरकाे सानेपामा रहेकाे स्टार अस्पतालमा राैतहटका ३० वर्षका एक पुरूषकाे निधन भएकाे छ । १३ गते स्वाब पठाएकाेमा साेही दिन राति ८ गते फाेक्साेका ती विरामीकाे मृत्यु भएकाे हाे । परीक्षणकाे नतिजा असार १४ गते पाेजेटिभ आएसँगै मृत्यु हुने २९ पुगेकाे छ ।