साउन ७ गतेसम्म लकडाउनलाई निरन्तरता दिने मन्त्रीपरिषदको निर्णय

-


     मर्दी न्युज    
     १५ असार २०७७ मा प्रकाशित


काठमाडौं । सरकारले आंशिकरूपमा खुलाइएको लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायम रहेको लकडाउनको अवधि साउन ७ गतेसम्म थप गर्ने निर्णय गरेको छ।

त्यस्तै अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द राख्ने निर्णय गरिएको एक मन्त्रीले बताए ।
कोरोना संक्रमणको दर बढ्दै गएकाले अहिलेलाई यही शैलीको लकडाउनलाई साउन ७ सम्म निरन्तरता दिने निर्णय भएको उनले बताए।

हाल स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ । यस्तै उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ । यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ ।

यसैगरी व्यक्तिहरुको पैदल आवागमन खुल्ला गर्दै जोर बिजोरको आधारमा मोटरसाइकल निजी सवारी साधन सञ्चालन गर्न दिइएको छ । यसैगरी सरकारले बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला छन् ।

तर, जिमखाना, सपिङ मल, समूहमा खेलिने खेलमैदान, प्रस्तुतिहरु, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु, क्वारेन्टाइनका लागि तोकिएका बाहेकका होटल खोल्न रोक लगाइएको छ ।

यस्तै यात्रुबहाक सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ । बैठकमा कोरोना संक्रमण दर बढ्दै गइरहेको सन्दर्भमा यसबारे गम्भीर समीक्षा भएको बताइएको छ ।

सरकारले कोरोना संक्रमणको जोखिमपछि गत चैत ११ देखि लकडाउन जारी गरेको थियो । तर जेठ २८ गते भएको निर्णयअनुसार लकडाउन खुकुलो बनाइएको भएकोमा सोही निर्णयअनुसार जारी खुकुलो लकडाउनलाई साउन ७ सम्म कायम राख्ने निर्णय भएको हो।