विद्यार्थीलाई अध्ययन सामग्री वितरण

-


     मर्दी न्युज    
     १२ साउन २०७७ मा प्रकाशित


पोखरा, १२ साउन । कोरोना भाइरस (कोभिड–१९)का कारण विद्यालय जान नपाई पढाई प्रभावित भएका सामुदायितक विद्यालयका विद्यार्थीलाई पोखरा महानगरपालिकाले स्वअध्ययन पुस्तक वितरण सुरु गरेको छ । पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि ‘स्वअध्ययन सामग्री’ तयार गरेको हो ।

पहिलो दिन विभिन्न ५ वडाका ७८ विद्यालयका ४९ सय विद्यार्थीलाई सामग्री वितरण गरिएको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन ।
अध्ययन सामग्री पोखरा महानगरपालिका वडा नम्वर २८ मा महानगरका प्रमुख मानबहादुर जिसी, वडा नम्वर २४ मा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा नम्वर २३ मा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बराल र वडा नम्वर ३३ मा महानगर शिक्षा महाशाखा प्रमुखले विद्यालयका सम्बन्धित प्रअमार्फत विद्यार्थीलाई ती सामग्री हस्तान्तरण गरे । यसअघि वडा नं. २० का विद्यार्थीलाई सामग्री दिइएको थियो । अन्य विद्यालयहरुलाई समेत महानगरले क्रमशः वितरण गर्दै जाने जनाइएको छ ।

पोखरा महानगरभित्र रहेका ३८ विद्यालयलाई आवश्यक सो अध्ययन सामग्रीको प्रकाशन राइट फर चिल्ड्रेन र कक्षा १ देखि ३ सम्मको हिमालय बुद्ध फाउण्डेशनले प्रकाशनमा सहयोग गरेको हो भने अन्य विद्यालयहरुलाई महानगरले आफनै खर्चमा सो अध्ययन पुस्तक प्रकाशन गरेको हो ।

वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार सो अध्ययन सामग्री वितरण सुरु गरिएको शिक्षा महाशाखा अधिकृत बसन्तराज पौडेलले जानकारी दिए । सो अध्यक्ष पुस्तकमा ९० दिनको कार्ययोजना समावेश गरिएको पौडेलले बताए ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बालबालिकालाई शैक्षिक क्रियाकलापबाट टाढा हुन नदिन वैकल्पिक शिक्षामार्फत जोड्ने काम महानगरले गरेको बताइन् । सो अभियानअन्तर्गत उनले महानगरमा रहेका ८ वटा विद्यालयलाई आज स्वअध्ययन सामग्री वितरण गरिने जनाए ।

पोखरा महानगरपालिकाले विद्यार्थीमा सकारात्मक ऊर्जा सिर्जना गर्न र प्रतिभा प्रस्फुटन गराउन टेलिभिजन कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।