अध्यादेशहरु जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरुको आग्रह

-


     मर्दी न्युज    
     वैशाख १६ गते २०८३ मा प्रकाशित


संघीय संसदमा रहेका विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेशहरु जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् ।

नेपाली काँग्रेसको आह्वानमा आज सिंहदरबारस्थित नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।

संघीय संसदको बैठक आह्वान गरेर स्थगित गर्ने अनि अध्यादेश ल्याउने काम ठीक नभएको भन्दै विपक्षी दलहरुले संसदलाई छल्ने गरी सरकारले ल्याएका अध्यादेशहरु अस्वीकृत गर्न राष्ट्रपतिलाई आग्रह गरेका हुन ।

विपक्षी दलहरुले अध्यादेशहरुलाई फिर्ता गर्न सरकारलाई पनि आग्रह गरेका छन । उनीहरुले तत्काल संसदको बैठक बोलाउन समेत भनेका छन ।

बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरस्वती लामा सहभागी थिए ।