बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक जारी, प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउन लागेको आशंका

-


     मर्दी न्युज    
     १८ असार २०७७ मा प्रकाशित


पोखरा, १८ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीर्लाइ भेटेर फर्किएपछि केही बेर बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ ।

प्रधानमन्त्री ओली बिहीबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतल निवास गएका थिए । राष्ट्रपतिसँगको भेटमा समसायमिक विषयमा छलफल भइ फर्किरहँदा यता बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक पनि सुरु भइसकेको छ । बिहीबार ११ बजेलाई तय भएको स्थायी कमिटी बैठक १२ बजेपछि सुरु भएको थियो भने प्रधानमन्त्री ओलीले १२ बजेलाई मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

पार्टी स्थायी कमिटी बैठकमा बहुमत नेताहरुले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने मागसँगै गहिरिएको राजनीतिक संकटसँगै विभिन्न अड्कलबाजी शुरू भएका छन ।

पार्टीभित्र चर्कँदै गएको आन्तरिक कलहबीच बिहीबार मध्यान्ह बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेकोछ । निर्णयसहित अधिवेशन अन्त्य भएको औपचारिक घोषणाका लागि राष्ट्रपतिकहाँ सिफारिस पठाउने निर्णय भएको छ ।

संविधानको धारा ९३ को उपधारा २ मा राष्ट्रपतिले संसदको अधिवेशन अन्त्य गर्नसक्ने प्रावधान छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आजै साँझ पाँच बजेदेखि संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै उनले पुनः पार्टी फुटाउन मिल्ने गरि अध्यादेश ल्याउन लागेको आशंका चुलिएको छ । संसद अधिवेशन चलिरहेका बेला अध्यादेश जारी गर्न नमिल्ने संवैधानिक व्यवस्था छ ।

सरकारको यो निर्णयले पार्टीभित्रको विवादलाई थप जटिल बनाएको छ । प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेर आफू अनुकुलको कदम चाल्न खोजेको आशंका गरिएको छ । परिस्थिति थप गम्भीर हुने अनुमान गरिएको छ ।

ओलीको यो कदमपछि थप रणनीतिका लागि अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम आकस्मिक परामर्शमा जुटेका छन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक कलहले गम्भीर मोड लिएको छ । स्थायी समितिको बैठकबीच नै क्याबिनेट बोलाइनु र राष्ट्रपतिसँग प्रधानमन्त्री अचानक पुगेर परामर्श गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

बिहीबार बिहान पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न ओली समूहका नेताहरु खुमलटार पुगेका थिए । छलफलमा ओली निकटका ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल र योगेश भट्टराई सहभागी थिए । स्रोतका अनुसार भेटमा प्रचण्डले आफूलाई भन्दा पनि ओलीलाई सम्झाउन र पहिले भएका सहमति कार्यान्वयनका लागि मनाउन सुझाव दिएका थिए ।

बुधबार बेलुका झम्सीखेलमा प्रचण्डले बोलाएको बैठकमा ४४ सदस्यीय स्थायी समितिका ३० जना सदस्यहरू सहभागी भएका थिए । पार्टीभित्र ओली अल्पमतमा देखिएका छन । ९ सदस्यीय सचिवालयमा ६ जना र ४४ सदस्यीय स्थायी समितिका ३० जना ओली विपक्षमा देखिएका छन ।

पार्टीभित्रैबाट आफू घेराबन्दीमा परेको बताउँदै आएका ओलीको सम्भावित कदम के होला भनेर अनेक अनुमान र आशंका गरिएको छ ।

प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारत सक्रिय भएको र होटल एवं दूतावासमा चलखेल भइरहेको भनी दिएको पछिल्लो अभिव्यक्तिपछि पार्टीभित्र विवाद चर्केको हो । अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राजीनामा दिन आग्रह गरेका थिए ।