नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र निर्माता भुवन केसीबीचको विवाद उत्कर्षमा पुगेको छ ।
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले लगाएको दुर्व्यवहारको आरोपले आफ्नो चरित्र हत्या भएको भन्दै नायक एवं निर्माता भुवन केसीले कलाकार संघमा उजुरी दिएका छन् । केही दिनदेखि साम्राज्ञीले आफूविरुद्ध निराधार र मनगढन्ते आरोप लगाएको भन्दै उनले बिहीबार संघमा एक निवदेन दिइ छानबिनको माग पनि गरेका छन् ।
साम्राज्ञीले सामाजिक सञ्जालमा लगाएका आरोपमा सत्यता नभएको र यसले चलचित्र क्षेत्रको नै बद्नामी भएको भुवनले दाबी गरेका छन् । ’आजभन्दा ५÷६ वर्षअगाडि निर्माण गरेको चलचित्र ’ड्रिम्स’मा मैले कुनै किसिमको दुर्व्यवहार गरेको छैन । यो कुरा त्यतिखेर काम गर्ने चलचित्रकर्मीलाई सोध्दा पनि थाहा हुन्छ,’ उनको उजुरीमा लेखिएको छ ।
बिहीबार नै केसीले फेसुबकमा स्टाटस लेख्दै साम्राज्ञीलाई मानहानी हुने सामाग्री सार्वजनिक नगर्न भुवनले चेतावनी दिएका थिए । उनले साम्राज्ञीलाई साइबर कानून र मानहानीसम्बन्धि कानून प्रयोग गर्ने पनि बताएका छन् ।
यस्तो छ भुवनको पत्र
डियर साम्राज्ञी,
तपाईंलाई पहिलो पटक नाइकाको रुपमा सुपर काजल फिल्मको चलचित्र ड्रिम्स बाट चलचित्र क्षेत्र मा पदार्पण गर्ने मौका दिने व्यक्तिप्रति ,तपाईं धन्यवादी हुनुहुन्छ भन्नेमा म अपेक्षा गर्दछु। करिब ६ बर्ष अगाडि निर्माण भएर प्रदर्शन समेत भै सुपरहिट् भएको चलचित्र ड्रिम्सको शुटिङको क्रममा पानी खान पाइन, छाता ओढ्न पाइन, सुविधा प्राप्त भएन भन्ने जस्ता झुठा कुराहरु उठाएर चलचित्र प्रदर्शन भएको लगभग तीन वर्ष पछाडि र आजभोली मात्र म लगायत अरु निर्माताहरुलाई पनि गाली गलौज गरेको देख्दा आस्चर्य लागेको छ।
आफुलाई ब्रेकदिने पितातुल्य व्यक्तिका बारेमा अनर्गल तथा झुटा कुराहरु उल्लेख गरी तपाईंले मेरो बारेमा आफ्नो इन्स्ट्राग्राम भिडियो पोस्ट बनाइ पोस्ट गर्नु भएको सामाग्री हरुको सम्बन्धमा मेरो गम्भीर ध्यानाकर्षणभएको छ।
अब उप्रान्त तपाईंले म भुवन केसी ले विगत करिव चलीस वर्षदेखी नेपाली चलचित्रमा काम गरी बिभिन्न सुपरहिट फिल्म निर्माण पनि गरी आजसम्म यही चलचित्रको क्षेत्रमा रातदिन कार्यरत रही मैले हासिल गरेको मान प्रतिस्ठाहरुमा आघात पुग्ने गरी पुनस् त्यस्ता मानमर्दन हुने प्रकारका सामाग्रीहरु इन्स्टाग्राम, फेसबुक या अन्य कुनै पनि सामाजिक सञ्जालमा पोस्ट नगर्न, हुन सुचित गर्दछु।
मेरो यो सुचनाको बावजुद तपाईंले यस्ता झुठा लान्छना लगाउने कार्यहरु गरे गराएमा तपाईं उपर प्रचलित साइबर कानुन र मानहानी सम्बन्धी कानुनको प्रयोग गरी मलाई पुग्न गएको मानसम्मानको हानी नोक्सानी उपर तपाईंबाट यथोचित क्षतिपुर्ति गराउने र तपाईंलाई कानुन बमोजिमको सजाएको भागेदारी गराउनुको निमित्त, आवश्यक कानुनी प्रकृयाको थालनी गर्ने व्यहोरो तपाईंलाई बढो दुःखका साथ् जानकारी गराउदछु।
भवदिय भुवन के .सी