![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/07/Today-NEPSE.jpg?fit=627%2C823&ssl=1)
आर्थिक वर्ष २०७६/७७ को अन्तिम दिन असार ३१ गते बुधवार नेप्से परिसूचक १४ दशमलव ९० अंक बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १ दशमलव ११ प्रतिशत बढेको हो । आर्थिक वर्षको अन्तिम दिन आज नेप्सेले १ हजार ३६२ दशमलव ३४ विन्दु कायम गरेको हो ।
आज शेयर बजारमा १ अर्ब १६ करोड ४ लाख ९१ हजार बराबरको कारोबार भएको छ । आर्थिक वर्षको अन्तिम दिन १८९ कम्पनीको १५ हजार ८५८ पटकको व्यापारमा ३२ लाख १२ हजार ९२४ कित्ता शेयर कारोबार भएको छ ।
कोरोना संक्रमणका कारण अन्य आर्थिक क्षेत्रहरु सिथिल भएको अवस्थामा नेपालको पूँजीबजार भने यसको प्रभावबाट विस्तारै माथि उठ्न थालेको देखिन्छ । लकडाउनका बीच खोलिएको केहि दिन नकारात्मक सर्किटको प्रभाव समेत सामना गरेको नेपालको शेयर बजारले पछिल्लो समयमा अघि बढेको देखिन्छ ।
आज बुधवार ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ४ दशमलव शून्य ६ अंकले बढेर २८८ दशमलव २४ विन्दुमा पुगेको छ । कुल कारोबार रकमको सबैभन्दा बढी हिस्सा बुधवारको कारोबारमा एनआईसी एशिया बैंकले ओगटेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ५५३ मा रू. १० करोड ४० लाख २५ हजार बराबरको शेयर कारोबार भएको छ ।
त्यस्तै एनआईसि एशिया बैंक पछिको दोस्रोमा नेपाल पुनर्बीमा कम्पनीको बढी रकमको शेयर कारोबार भएको छ । उक्त कम्पनीको भने प्रतिकित्ता रू. ५०४ मा रू. ९ करोड ७३ लाख ६२ हजार बराबरको शेयर कारोबार भएको छ ।
आजको दिन ९१ ओटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७५ ओटा कम्पनीको शेयरमूल्य घटेको छ ।