पोखरा महानगरपालिका वडा नम्बर २३ घाँटीछिना नयाँ बस्ती नजिकै हर्पन खोला ड्याममा पौडी खेल्ने क्रममा डुबेका युवकको शव फेला परेको छ ।
बाढी पहिरोले देशमै वितण्डा मच्चाइरहँदा शुक्रबार दिउँसो ४ बजेतिर बढेको खोलामा आफ्ना साथीसँग ड्याममा पौडी खेल्ने क्रममा डुबेका पोखरा-२७ लेखनाथ सुन्दरीबजारका २१ वर्षीय प्रयुश गुरुङको शव मङ्गलबार फेला परेको हो ।
सशस्त्र, प्रहरी र स्थानीयले संयुक्त टोलीले खोजी गर्ने क्रममा मङ्गलबार दिउँसो गुरुङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । लगातार ४ दिन देखि टोलीले खोजी गर्दै आएकोमा मङ्गलबार जाल हानेर खोजी गर्दा उनको शव भेटिएको डिएसपी हमालले बताए ।
गुरुङको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएपछि परिवारले शव बुझेका छन् ।