नेकपाका शीर्ष नेताको छलफल निष्कर्षविहीन, भोलिको बैठक नरोकिने

-


     मर्दी न्युज    
     १ साउन २०७७ मा प्रकाशित


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शीर्ष नेतृत्वबीचको छलफल बिना निष्कर्ष टुंगिएको छ। पार्टीको आन्तरिक विवाद व्यवस्थापन गर्न बिहीबार अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल छलफलमा जुटेका थिए ।

बैठकमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए। दुई अध्यक्षको छलफलमा कुनै निष्कर्ष ननिस्किएको नेकपा महासचिव विष्णु पौडेलले बताए ।

बिहीबारको छलफलमा प्रचण्ड र नेता नेपालले प्रधानमन्त्रीको राजीनामालाई शर्तको रुपमा अगाडि सारेको बालुवाटार स्रोतको दाबी छ । ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्याएपछि कुरा नमिलेको स्रोतको दाबी छ ।

महासचिव विष्णु पौडेलले शुक्रबारको स्थायी समिति बैठक बस्नेसमेत बताए । गत असार १८ गतेदेखि स्थायी समिति बैठक बस्न सकेको छैन । सहमतिका लागि भन्दै पटक पटक स्थगित भएको स्थायी समिति बैठक पछिल्लो पटक सात दिनका लागि स्थगित भएको थियो ।