पोखरा, १ साउन । नेपालमा थप १ सय ६७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ८१ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ३ लाख ३ हजार ८ सय १० जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी बुधवारसम्म क्वारेन्टाइनमा २३ हजार ५ सय जना रहेका छन् । यस्तै आइसोलेसनमा ६ हजार ५६ जना संक्रमितहरु उपचाररत रहेका छन् ।
पछिल्लो २४ घन्टामा २ सय १३ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ११ हजार २ सय ४९ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको प्रतिशतमा ६४.८५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।