मौद्रिक नीति आज आउँदै

-


     मर्दी न्युज    
     २ साउन २०७७ मा प्रकाशित


काठमाडौं । कोरोना भाइरसका कारण ऋण तिर्न नसकेका ऋणीलाई विशेष सुविधासहित आज चालू आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीति सार्वजनिक हुने भएको छ । बिहान ८ बजे बसेको सञ्चालक समिति बैठकले मौद्रिक नीति स्वीकृत गरेको हो । बोर्डबाट पारित भएसँगै मध्यान्ह ३ बजे नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ ।

स्रोतका अनुसार मौद्रिक नीतिमा प्राथमिकताप्राप्त क्षेत्रअन्तर्गत कृषि, ऊर्जा, पर्यटनलगायतमा गरी कुल लगानीको २५ प्रतिशत अनिवार्य रूपमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था केही परिमार्जन गरिएको छ । कर्जा स्रोत परिचालन अनुपात (सीसीडी) मा पनि परिमार्जन गरिएको छ । स्रोतका अनुसार सीसीडी रेसियो ८५ प्रतिशत कायम गर्ने निर्णय सञ्चालक समितिले गरेको छ । यता, व्यवसायमा देखिएको तलरता अभावलाई मध्यनजर गर्दै चालु पुँजी कर्जाको सीमामा पनि बढाउने निर्णय मौद्रिक नीतिमा गरिएको छ ।

ऋणीको प्रकृति अनुसार ३ महिनादेखि २ वर्षसम्म ऋण तिर्ने समयावधि थप गर्ने गरी मौद्रिक नीति तर्जुमा भएको राष्ट्र बैंकका बोर्ड स्रोतले जानकारी दिएको छ । बढी प्रभावितले बढी सुविधा पाउनेछन् ।

यसैगरी सहुलियत कर्जा तथा पुनर्कर्जालाई गाउँ–गाउँसम्म पु¥याउने समेत नीतिमा उल्लेख गरिएको स्रोतले बताएको छ ।

सञ्चालक समितिको बैठकपछि अनुसन्धान विभागले मौद्रिक नीतिलाई अन्तिम रुप दिँदैछ । दिउँसो तीन बजे नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत मौद्रिक नीति जारी गरिने राष्ट्र बैंकले जनाएको छ ।