सेयर बजार ८४ अंकले बढेपछि सर्किट ब्रेक, आजलाई कारोबार बन्द

-


     मर्दी न्युज    
     ४ साउन २०७७ मा प्रकाशित


काठमाडौं । आइतवार नेप्से परिसुचक ८४ अंकले वृद्धि भएपछि सर्किट ब्रेक लागेको छ । आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबारमा सेयर बजार सकारात्मक सर्किट ब्रेक लागेको हो ।

आइतबार ६ प्रतिशतले बढेर सर्किट ब्रेक लागेपछि दिनभरकै कारोबार रोकिएको छ । यस अवधिमा सेयर कारोबार मापक नेप्से परिसूचक ८४।२६ अंकले बढेको छ । सेयर बजारमा कारोबार हुने उपसमूहमध्ये म्युचल फण्डबाहेक सबै उपसमूहको परिसूचक बढेको छ ।

आइतबार १८ ओटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट ब्रेक लागेको छ । अत्यधिक खरीद चाप भएपछि पोजेटिभ सर्किट ब्रेक लागेको हो । १८ ओटा कम्पनी मध्ये ६ ओटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

गुँरास लघुवित्त वित्तीय संस्था,एनआईसि एशिया बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकको संस्थापक शेयरको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

त्यसैगरी नागरिक लगानी कोषको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्सको ९ दशमलव ९६ प्रतिशत, एभरेष्ट बैंकको ९ दशमलव ९५ प्रतिशत, हिमालयन डिष्टीलरीको ९ दशमलव ९५ प्रतिशत, ज्योति विकास बैंकको ९ दशमलव ९४ प्रतिशत, एनएमबि बैंकको ९ दशलमव ९३ प्रतिशत, सेञ्चुरी कर्मशियल बैंकको ९ दशमलव ८८ प्रतिशत, एनसीसी बैंकको ९ दशमलव ८९ प्रतिशत, मेगा बैंकको ९ दशमलव ८६ प्रतिशत, मञ्जुश्री फाइनान्सको ९ दशमलव ७४ प्रतिशत, नेपाल बैंकको ९ दशमलव ७२ प्रतिशत र लुम्बिनी विकास बैंकको शेयर मूल्य ९ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ ।

कारोबार खुलेको ६ मिनेटमा ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि कारोबार रोकिएको थियो । २० मिनेटपछि खुलेको बजारमा केहिबेरमै ५ प्रतिशतले वृद्धि भयो ।

त्यससपछि ४० मिनेट बन्द गरिएको थियो । दोस्रो पटक सर्किट ब्रेकपछि खुलेको १ मिनेटमै ६ प्रतिशतले बढेपछि दिनभरका लागि बजार बन्द गरिएको हो । अब शेयर कारोबार सोमबार मात्र हुनेछ ।