कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या ६ लाख नाघ्यो

-


     मर्दी न्युज    
     ५ साउन २०७७ मा प्रकाशित


पोखरा, ५ साउन । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख नाघेको छ । कोरोनाका कारण विश्वमा सोमवार बिहानसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ५ हजार ११६ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ भने दोस्रोमा ब्राजिल छ । अमेरिकामा सोमवार बिहानसम्म ज्यान गुमाउनेको संख्या १ लाख ४० हजार ५ सय पुगेको छ । त्यस्तै ब्राजिलमा ७९ हजार ४ सय ८८ पुगेको छ ।

यसैगरी धेरै ज्यान गुमाउनेको देशको सूचीमा तेस्रो स्थानमा रहेको युकेमा ४५ हजार ३ सय ८५ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो अध्यावधिक विवरण अनुसार विश्वभर संक्रमितको संख्या १ करोड ४४ लाख ४८ हजार ७ सय ५१ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित अमेरिकामा नै छन् । अमेरिकामा हालसम्म ३७ लाख ६८ हजार ५५ जना कोरोनाबाट संक्रमित भइसकेका छन् । त्यस्तै अमेरिका पछि ब्राजिलमा २० लाख ९८ हजार ३८९ जना संक्रमितको पुष्टि भइसकेका छन् । त्यस्तै सबैभन्दा धेरै संक्रमितको सूचिको तेस्रो स्थानमा रहेको भारतमा १० लाख ७७ हजार ७८१ जना पुगेको जोन्स हप्किन्स विश्वविद्यालयलको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी विश्वभर कोरोना निको भई घर फर्किनेको संख्या ८१ लाख २३ हजार ३५८ पुगेको छ । सबैभन्दा धेरै निको भइ घर फर्किनेमा ब्राजिलमा रहेको छ । ब्राजिलमा १४ लाख ५९ हजार ७२ जना कोरोना निको भइ घर फर्किसकेका छन् भने अमेरिकामा निको हुनेको संख्या ११ लाख ३१ हजार १२१ जना रहेका छन ।



Tags: