
अविरले वर्षापछि लमजुङको मर्स्याङदी गाउँपालिका–३, खुदीमा गएको पहिरोले १८ घर बगाएको छ ।
केही दिनदेखिको अविरल वर्षापछि बुधबार बिहान पौने १० बजेतिर पहिरो खस्दा १८ घर पूर्णरुपमा बगाएको हो । सोही ठाउँमा मंगलबार पनि पहिरो गएको र जोखिम पूर्वानुमान गर्दै स्थानीयहरु नजिकैको स्कुलमा बसेकोले मानवीय क्षति नभएको मर्स्याङदी गाउँपालिकाले जनाएको छ ।
मंगलबारको पहिरोले केही घरमा क्षति पु¥याएकोमा बुधबारको पहिरोले पूरै गाउँमा क्षति पु¥याएको प्रहरीले जनाएको छ । यद्यपी क्षतिको विवरण अझै आइनसकेको लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाको भनाइ छ ।
आइतबारदेखि निरन्तर परेको वर्षाले मंगलबार बिहान सामान्य पहिरो गएको थियो । सामान्य पहिरोपछि स्थानीयहरू स्थानान्तरण भई गाउँ छोडेका थिए । स्थानीयका अनुसार मंगलबारको पहिरोका कारण गोठहरू पुरिँदा नौ वटा पशुचौपाय मरेका छन् ।
गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकका अनुसार अहिले उद्धारको काम भइरहेको छ । पहिरो खसेको ठाउँमा ८० घरधुरी रहेको उनले जानकारी दिए ।