कोरोना संक्रमणका कारण उत्तर प्रदेशकी शिक्षा मन्त्री कमला रानीको मृत्यु

-


     मर्दी न्युज    
     श्रावण १८ गते २०७७ मा प्रकाशित


एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट भारतको उत्तर प्रदेशकी मन्त्री कमला रानी वरूणको आइतबार बिहान मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मुख्यमन्त्री योगी आदित्यनाथको क्याबिनेटमा शिक्षा मन्त्री रहेकी कमला रानीको ६२ वर्षको उमेर मृत्यु भएको हो । उनलाई १८ जुलाईमा कोरोना संक्रमण भएको थियो । उनको लखनऊस्थित एसजिपिजिआई अस्पतालमा उपचार भइरहेको थियो।

मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमला रानीको निधनमा दुःख व्यक्त गरेका छन । उनले आइतबार अयोध्या जाने आफ्नो कार्यक्रम रद्द गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

कमला रानीले सन् २०१७ को विधान सभामा कानपुरको घाटमपुरबाट जित हात पारेकी थिइन । उक्त क्षेत्रमा चुनाव जित्ने उनी भारतीय जनता पार्टीकी पहिलो विधायक हुन । यसअघि कमला रानी भारतको लोकसभाकी पनि सांसद बनिसकेकी छन ।

पछिल्लो समय भारतमा दैनिक ५० हजारभन्दा बढी मानिसमा कोरोनाको संक्रमण देखिइरहेको छ । पछिल्लो २४ घन्टामा भारतभर ५४ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ सय ५३ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कुल संक्रमितको संख्या १७ लाख ५० हजार ७२४ जना रहेको छ । कोरोना संक्रमणबाट भारतमा हालसम्म ३७ हजार ३ सय ६४ जनाको मृत्यु भएको छ ।



Tags: