भोलिदेखि सवारीमा जोर विजोर प्रणाली लागू

-


     मर्दी न्युज    
     श्रावण २१ गते २०७७ मा प्रकाशित


पोखरा । सरकारले भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।

कोरोना भाइरसको जोखिम बढेसँगै काठमाडौं उपत्यका र कोभिड–१९ को २०० भन्दा बढी सक्रिय केश भएका जिल्लामा जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जानकारी दिएका छन् ।

सरकारले गत असार २६ बाट निजी सवारी साधनको जोर विजोर प्रणाली हटाएको थियो । यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो ।

कोरोना संक्रमणको जोखिम बढेसँगै विज्ञहरुले जोर विजोर लागू गर्न मंगलबार प्रधानमन्त्रीलाई सुझाएका थिए ।

यस्तै सरकारले संक्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र÷स्थानलाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले तुरुन्त बन्द गर्ने र थप परीक्षण बढाउने जारी विज्ञप्तिमा उल्लेख छ ।

कुनकुन जिल्लामा छ निषेधाज्ञा ?
सरकारले संक्रमणको जोखिम बढेसँगै देशभरका १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।
देशमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कोरोनाको अवस्थालाई हेरेर बन्दाबन्दी गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र स्थानीय तहलाई दिएसँगै १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।

गृह मन्त्रालयका अनुसार सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, बझाङ, दार्चुला, सर्लाही र स्याङ्जामा निषेधाज्ञा जारी गरिएको छ। सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने पर्सा, बारा र सर्लाहीमा अनिश्चितकालीन निषेधाज्ञा गरिएको छ। यस्तै सप्तरीमा साउन २६, बाँकेमा साउन २४ र स्याङ्जामा साउन २३ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ।

दार्चुलाको मार्मा गाउँपालिका, झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिका, मोरङको विराटनगर महानगरपालिका, सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६, ७ र ८, महोत्तरीको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिका, धनुषाको जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिका, नुवाकोटको सदरमुकाम क्षेत्र, बझाङको थलारा गाउँपालिका–५ र केदारस्यू गाउँपालिका ६ र ७ मा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ।