
पोखरा, २६ साउन । पोखरा महानगरपालिकामा थप दुई जनासहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमित भेटिएका छन् ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नं. ५ मा एक ३७ वर्षीय पुरुष र वडा नं. २६ मा एक ४० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा ६०९ जनामा परीक्षण गरिएकोमा आज संक्रमित हुने अन्य जिल्लाहरुमा नवलपुर जिल्ला गैंडाकोट नगरपालिकाका ३२ वर्षीया महिला र ३७ वर्षका एक पुरुष गरी दुईजना, पर्वत जिल्ला, मोदी गाउँपालिकाका ५२ वर्षीय पुरुष, स्याङ्जा गल्याङ नगरपालिकाका ४५ वर्षीया महिला र तनहुँका भानु नगरपालिकाका र बन्दीपुर गाउँपालिकाका ३४÷३४ वर्षका दुई पुरुष गरी ६ जना रहेका छन् ।
यससँगै आज सोमवार गण्डकी प्रदेशमा थप ८ जना संक्रमित थपिएका छन् ।
प्रदेशमा आज थपिएसँगै कोरोना संक्रमितको संख्या १६ सय २० पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशबाट ७ जनाले कोरोना जितेर घर फर्केका छन् । यससँगै कोरोना निको भएर घर फर्किनेको संख्या १४ सय ७० पुगेको छ ।


