मोरङमा न्यायाधीशसहित ९ जनामा कोरोना

-


     मर्दी न्युज    
     श्रावण २६ गते २०७७ मा प्रकाशित


विराटनगर, २६ साउन । जिल्ला अदालत मोरङका एक न्यायाधीशसहित ९ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । न्यायाधीशमा संक्रमण पुष्टि भएपछि ३ दिनका लागि अदालत बन्द हुने भएको छ ।  जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी निरीक्षकको सम्पर्क पहिचानमा गर्ने क्रममा कोशी अस्पतालको ल्याबमा स्वाब परीक्षण गर्दा न्यायधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । अदालतका सूचना अधिकारी युवराज पौडेलका अनुसार न्यायधीशसहित चार जनाको स्वाब सङ्कलन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकमा सङ्क्रमण पुष्टि भएपछि उहाँको सम्पर्कका आधारमा अदालतका चार जनाको स्वाब सङ्कलन गरिएको हो । न्यायधीशमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबारदेखि तीन दिनको लागि अदालत बन्द गरिएको सूचना अधिकारी पौडेलले जानकारी दिए ।

अदालत पूर्ण रूपमा बन्द गरी स्यानिटाइज गरिनेछ र सेवाग्राहीका लागि सुरक्षित स्थल बनाएपछि मात्रै अदालतको काम सुचारु हुने भएको छ । नियमित मुद्दाका सुनुवाई स्थगितसमेत भएका छन् । जिल्ला अदालत मोरङमा १२० कर्मचारी ४० जना कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।