३७ वर्ष पछि चितवनमा फर्कियो गंगाचीलठूँडे फ्यालफ्याले

-


     मर्दी न्युज    
     श्रावण २९ गते २०७७ मा प्रकाशित


फोटोः लोजिक कृष्ण सागर

रमेश चौधरी, चितवन
पश्चिम चितवनको मेघौली नजिकै सिसुवार गाउँको धानखेतमा नेपाल वाईल्डलाईफ फोटोग्राफर्स क्लब, बर्ड एजुकेसन सोसाईटी र नेपाल पंछी संरक्षण संघका सक्रिय सदस्यहरुः रमेश चौधरी, राजु तामाङ, राधा कृष्ण श्रेष्ठ, लोजिक कृष्ण सागर, चुडामणी चौधरी र मिलन तामाङले चरा अवलोकन तथा वन्यजन्तुको फोटो खिच्ने क्रममा नेपालको अति संकटापन्न प्रजाति गंगाचीलठूँडे फ्यालफ्याले मिति २०७७ साल श्रावण २७ गते तदनुसार अगष्ट ११ तारिक २०२० मा ३७ वर्ष पछि चितवनमा फेला पारेका हुन् । यस भन्दा अघि सन् १९८३ मा यो प्रजाति चितवन रास्ट्रिय निकुञ्ज (अल्सट्रोम र ओल्सन, १९८३) मा भेटिएको थियो ।

फोटोः लोजिक कृष्ण सागर

नेपालमा सन् १९९० भन्दा पहिले प्रचुर हिउँदे आगन्तुक तथा वटुवाको रुपमा कोशी ब्यारेज क्षेत्रमा (इन्स्किप र इन्स्किप १९९१) तथा सन् १९९९ सम्म कोशी ब्यारेज क्षेत्रमा निरन्तर अवलोकन गरिएको (बराल एच एस र अरुहरु) र अन्य क्षेत्रहरुमा वटुवाको रुपमा देखिएको यो प्रजाति त्यस पछिका वर्षहरुमा फाट्टफुट्ट वटुवाको रुपमा अभिलेख गरिएको पाइन्छ । नेपालको संकटापन्न पंछी संम्बन्धी रातो किताबमा यो प्रजाति काठमाण्डौं उपत्यकामा दुई पटक क्रमशः सन् २००३ को अगष्ट (भान रिसेइन ए द्धारा बराल एचएस र इनिस्किप सी लाई पेश गरिएको पेपर) र सन् २००७ को फेब्रुअरी (कर्नेल डेभिडसन र कार्की) अभिलेख गरिएको थियो ।

फोटोः राजुु तामाङ

सन् १९७४ को जनवरी महिनामा कोशी ब्यारेजमा नेपालका लागि पहिलो पल्ट अभिलेख (माड्जे र अरुहरु, १९७४) गरिएको यो प्रजाति काराड्रायाफोरमेस उपपरिवारको लारिडी उपजातिमा पर्दछ । जसलाई अंग्रेजीमा गलबिल्ड टर्न तथा बैज्ञानिक नाम गेलोचेलिडन निलोटीका भनिन्छ । नेपालमा ९ प्रजातिका फ्यालफ्याले पाइन्छ । समुन्द्री सतहको १०० मिटर देखि ३०५० मिटर सम्म यात्राका क्रममा रारा क्षेत्रमा (बोल्टन, १९७६) देखिएको यो फ्यालफ्याले बटुवाको रुपमा कास्कीको फेवातालमा सन् १९७७ को मे महिना (मिस्चलर,१९७७) र सन् १९८१ को मे महिना (वल्सट्रेनक्रफ्ट, १९८१) समेत अभिलेख गरिएको छ ।

सिमसार क्षेत्रहरुको संकुचन, आहारा प्रजातिको ब्यापक गिरावट, चोरी शिकारले गर्दा पछिल्लो समयमा अत्यन्तै बिरल बटुवाको रुपमा पाइने यो प्रजाति सन् २०१९ को अप्रिल (पौडेल एके र पौडेल एस, २०१९) तथा जुलाई महिना (घिमिरे एम र घले जिबि, २०१९) मा कास्कीको फेवातालमा साथै सन् २०२० को मे महिनामा कोशी ब्यारेजमा (आचार्य एस र अरुहरु, २०२०) पूनः अभिलेख गरिएको छ । तर संख्यामा भने नाटकीय रुपले कम देखिएको छ ।

फोटोः लोजिक कृष्ण सागर

विश्वव्यापी रुपमा आइयुसिएनको कम चासोको स्थानमा राखिए पनि नेपालको सन्दर्भमा अति संकटापन्न यस प्रजाति मुख्य गरेर ठूला नदी र तालहरुमा पाईन्छ् । माछा, भ्यागुता तथा साना किराहरु खाएर परिस्थितिकीय प्रणालीमा सन्तुलन राख्ने यी प्रजाति सँगै अन्य प्रजातिहरु पनि भविष्यमा नेपालमा नदेखिन पनि सक्ने कुराहरुमा नेपालका पंछीबिदहरु चिन्ता ब्यक्त गर्दछन् । जनचेतनाको कमि, किटनासक औषधिको प्रचुर प्रयोग र आहारको अभाव नै यो पंछी लागि खतराका प्रमुख कारणहरु हुन्। समयमा नै खतराका कारणहरुलाई कम गर्न सकिएन भने निकट भविष्यमा नेपालमा यो पन्छी नदेखिन सक्ने सम्भावना छ। त्यसैले, पंछी र तिनका बासस्थान संरक्षणमा हातेमालो गरौँ। चराचुरुंगी नै हाम्रा जीवनका आधार हुन् ।

पंक्तिकार पन्छीविद, नेपाल पन्छी संरक्षण संघका कार्यकारिणी सदस्य र बर्ड एडुकेशन सोसाइटीका संस्थापक सचिव हुन्।