
पोखरा, २९ साउन । पछिल्लो २४ घण्टामा थप ५ सय २५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । बिहीवारसम्म ८ हजार २५ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ५९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ४ लाख ८३ हजार ३८ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी बिहीबारसम्म क्वारेन्टाइनमा १४ हजार ७ सय ६९ जना रहेका छन् । पछिल्लो २४ घन्टामा १०९ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १६ हजार ८ सय ३७ रहेको प्रवक्ता डा गौतमले बताए ।
नेपालमा हालसम्म ७३ जना पुरुष र २२ महिला गरी ९५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।